काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा आज पनि उच्च अदालतमा हेर्न नभ्याइने सूचिमा परेको छ । समय अभावको कारण देखाउँदै लामिछानेको मुद्दा न्यायधिसले हेर्न नभ्याइने सूचीमा राखेका हुन ।
लामिछानेको मुद्दा न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा ६ नम्बरमा थियो । अदालतले पक्षहरूको तर्फबाट रहनुभएका कानून व्यवसायीहरुको संख्या र निजहरुलाई बहस गर्न लाग्ने समय समेतलाई मध्यनजर गर्दा प्रस्तुत मुद्दा आज छैटौं नम्बरमा पेशीमा चढेको कारण समयाभावले हेर्न नभ्याइएको हुँदा आगामी हप्ता प्राथमिकतामा पर्ने गरी पेशीमा चढाइ नियमानुसार पेश गर्नु भन्ने उल्लेख गरेको छ ।
क्रिकेटर लामिछानेको मुद्दा यसअघि गत १० वैशाखका लागि पेशी तोकिएको थियो । उक्त समयमा पनि हेर्न नभ्याइने सूचिमा परेको थियो । उच्च अदालतले अर्को पेसी वैशाख २३ मा तोकेको छ र सो दिन प्राथमिकतामा राखेर सुनुवाइका लागि आदेश गरेको छ ।