कानूनी सहजता प्रदान गर्नसमेत लगानी आकर्षित भएनन्, लगानी सम्मेलनमा जम्मा ४ वटा सम्झौता हुने

काठमाडौं । सरकारले निकै तामझाम गरेर आयोजना गरेको र नौ करोड रुपैयाँ खर्चर आयोजना भइरहेको लगानी सम्मेलनले लगानीकर्ता आकर्षित भने गर्न सकेन ।

सरकारले कानूनी सहजता प्रदान गर्न विभिन्न १२ वटा कानून नै संशोधन गर्दासमेत लगानीकर्ताले भने चासो नै कम देखाएको पाइएको छ ।

सरकारले आइतबारदेखि आयोजना गरेको लगानी सम्मेलन आजसम्म चल्ने छ । सरकारले भव्य तामझामका साथ आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा जम्मा चारवटा सम्झौता हुने भएको छ ।

लगानी बोर्डको कार्यालयको तयारी अनुसार सम्मेलन चारवटा सम्झौतामा सीमित हुने भएको छ। बोर्डका अनुसार आइतबार एउटा सम्झौता भएको छ भने सोमबार आज थप ३ वटा सम्झौता हुने छ ।

आइतबार व्यवसायी बसन्त चौधरीको विएलसी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबीच लगानी सम्झौता भएको छ । विएलसीको तर्फबाट मेघा चौधरीले हस्ताक्षर गरेको ३ अर्ब रुपैयाँ लगानीमा नेपालमा बनाइने डाटा सेन्टरको लागि लगानी सम्मेलनको उद्घाटन सत्रमा सम्झौता भएको हो । बसन्त चौधरीको बिएलसी होल्डिङ्सले भारतीय योट्टा डाटा सर्भिससँग मिलेर नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको हो ।

विएलसी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबीच सम्पन्न लगानी सम्झौता, सोमबार हुने चीन नेपाल मैत्री औद्योगिक पार्क विकासको सम्झौता, बोर्डले २५० मेगावाटको ग्रीड कनेक्टेड सोलार आयोजनासंग आयोजना विकास सम्झौता (पीडीए) र सोलार आयोजनाको पीडीए हङकङको कम्पनीसंग सम्झौता बाहेक अरु सम्झौता हुने तय नभएको बोर्डले जानकारी दिएको छ ।

सम्मेलनमा डाबर नेपालसँग पीआईए गर्ने तयारी छ । डाबर नेपालको क्षमता अभिवृद्धि र उत्पादनमा विविधीकरणका लागि सम्झौता हुन लागेको हो । अप्पर मर्स्याङदी २ जलविद्युत् आयोजनासँग पीडीए गर्न लागिएको थियो । तयारी नपुगेपछि पीडीए रोकिएको छ ।

पर्याप्त गृहकार्य नै नगरी तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन औपचारिकतामा सीमित हुने भएको छ । आयोजना छनोट समेत हचुवामा गरिएको पाइएको छ। आयोजना धेरै देखाउने तर लगानीकर्ता भने आकर्षित नहुने अवस्था आएको छ । सरकारले भने लगानी सम्मेलनमार्फत १५३ वटा आयोजना सोकेशमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज