काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले श्रमजीवी पत्रकार ऐन बने पनि कार्यान्वयन हुन नसकेको बताउँदै यसमा रहेका समस्या समाधान गर्न सरोकारवाला पक्षसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । काठमाडौँमा डिजिटल मिडिया फाउण्डेसनले शनिबार आयोजना गरेको ‘डिजिटल डायनामिक्स अफ प्रेस फ्रिडम–नेपाली कन्टेक्सट’ विषयमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री गिरीले यस्तो बताएका हुन ।
पत्रकार सामाजिक र आर्थिक रूपमा सुरक्षित नभएसम्म निष्पक्षरूपमा समाचार सम्प्रेषण हुननसक्ने बताउँदै मन्त्री गिरीले पत्रकारको सामाजिक सुरक्षा कमजोर रहेको र पेसागत काम गर्ने क्रममा भौतिक क्षति भएमा त्यसको भार पत्रकारको परिवारले मात्रै व्यहोर्नुपर्ने अवस्था रहेसम्म निर्धक्क भएर काम गर्ने अवस्था नहुने बताए । उनले भने सामाजिक र भौतिक सुरक्षा प्रत्याभूति गर्दै मिडियाकर्मीले ढुक्क भएर समाचार प्रकाशन/प्रसारण गर्ने वातावरण बनाउन आवश्यक छ । त्यसका लागि सरकार सहकार्य गर्न तयार छ ।