काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वर्षको बजेट र सरकारको नीतिबारे बहस गर्न बैठक बोलाएको छ । सत्तारूढ दल रास्वपाको संसदीय दलको बैठक मंगलबार बस्ने र एजेण्ड बजेट र नीति तथा कार्यक्रम नै भएको रास्वपाका एक नेताले जानकारी दिए ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दै छ । रास्वपका सचेतक निशा डाँगीका अनुसार बैठकका लागि चारवटा कार्यसूची तय गरिएको छ।
संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गतेबाट प्रारम्भ हुँदैछ।आगामी बजेट अधिवेशन र सरकारको नीति कार्यक्रमबारे बैठकमा छलफल हुने सचेत डाँगीले बताइन्। त्यस्तै पार्टीको संसदीय कामकारबाहीबारे पनि छलफल हुनेछ।
संसदीय दलको बैठकमा इलाम—२ को उपनिर्वाचनको पनि समीक्षा हुनेछ। वैशाख १५ गते भएको उपनिर्वाचनमा रास्वपा चौथो भएको थियो। नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बू चौथो भएको थिए। उनले ५ हजार ५० मत प्राप्त गरेका थिए।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टी रणनीतिका सम्बन्धमा पनि छलफल हुनेछ। यसबाहेक सरकारमा सहभागी मन्त्रीहरूको कामको पनि समीक्षा हुने रास्वपाले बताएको छ।
प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद छन्। इन्दिरा रानामगर उपसभामुख भएकाले बैठकमा २० जना सांसदको सहभागी हुनेछन्।