कानून दिवसको शुभकामना


नेपालमा वि. सं. २००८ मा प्रधान न्यायाधीश ऐन जारी भई वि.सं. २००९ वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनबाट लालमोहर लगाएको र ऐतिहासिक रूपमा नेपालले न्यायालय ऐन जारी गरेको दिनको स्मरणमा कानुन दिवस मनाउन थालिएको हो । न्यायालय कार्यपालिकाको छायाबाट मुक्त भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । नागरिकहरूको निष्पक्ष न्याय अनि समानताको चाहनालाई पुनर्परिभाषित गर्दै हरेक वर्ष कानुन दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइन्छ ।

नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नु पर्ने आवश्यकतालाई आजको दिनमा सबैतिरबाट जोड दिने गरिन्छ ।  

नेपाली न्यायको इतिहास मल्लकालीन न्याय व्यवस्था, राम शाहका पालामा न्याय नपाए गोर्खा जानु भन्ने उखान हुँदै मुलुकी ऐन अनि संविधानका चरणहरू हुँदै यहाँ सम्म आइपुगेको हो । इतिहासको पाना कोट्याउँदै जाँदा वि. सं. २००७ साल सम्म कार्यपालिका, न्यायपालिका अनि व्यवस्थापिका तिनै अगंहरु राणा शासकका हातमा रहेकोमा फाल्गुन ७ को क्रान्ति सफल भएपछि वैशाख २६ गते २००७ सालमा पहिलो पटक केन्द्रीय न्यायालय स्थापना गरेर नेपालले स्वतन्त्र न्यायपालिका पाएको दिन हो, कानुन दिवस । वि. सं. २००९ मा प्रथम र ऐतिहासिक न्यायालय ऐन, २००८ जारी भयो । उक्त ऐनले प्रधान न्यायालयबाट गरिने फैसला आदेशहरू अकाट्य र अन्तिम हुने कानूनी ब्यवस्था गरेको थियो । यो नै आजको दिनसम्म आई पुगेको नेपालको स्वतन्त्र न्यायालयको प्रस्थान विन्दु थियो । यस दिनलाई प्रजातन्त्र र मानव अधिकारको जग बसेको दिनका रूपमा पनि लिने गरिन्छ । कानुन दिवसका माध्यमबाट अन्यायमा परेका आमसर्वसाधारणको न्यायिक पहुँचको सुनिश्चितता र न्यायालयप्रतिको सम्मान अभिवृद्धि हुने विश्वास गरिएको छ ।

तर, आज न्यायालय कार्यपालिकाको खेलमैदान बनेको छ । न्यायाधीश नियुक्ति राजनैतिक भागबन्डाको अखडा बनेको छ । मिसिल फोटोकपी देखि माथिसम्म आर्थिक चलखेलको केन्द्र बनेको छ । न्यायालयमाथि आम जनताको विश्वासमा कमी हुँदै आएको छ । त्यसैले समय सापेक्ष न्यायालयको पुनर्संरचना गर्नु पर्ने आवश्यकता देखिएको छ । न्यायलयमा मुद्दाको चाङ्ग बढेको बढ्यै  छ । हजुर बुबाको पालाको मुद्दामा नातिले तारेख खेपीरहेका हजारौँ मुद्दाहरूको सुनुवाइ बाँकी छ । घर खेत बेचेर अदालती कारबाहीको पैसो तिर्नुपर्ने उदाहरण व्याप्त छ । अनि दुःखदायी कुराहरू त निमुखाहरूले न्याय नपाएका अनि टाठा बाठाले बाङ्गो बनाएका मुद्दा र निर्णयहरूसँग छ । कालो कोट भित्रका सेता भावनाहरू पारदर्शी होउन्, कानुनका लामा अनि समान हातहरू सबैको शिरउपर होउन, कानुन किनबेच नहोस् । गरिबको लागि न्याय आशाको केन्द्र बनोस ।

कानुन दिवसको अवसरमा सबैलाई शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज