विराटनगर । कोशी प्रदेशमा वैकल्पिक सरकार गठनको आह्वान भएको छ। बुधबार राती प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार वैकल्पिक सरकार गठनका लागि आव्हान गरेका हुन ।
वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्म समय दिएका छन् । प्रमुख खापुङको यो आव्हानसँगै मुख्यमन्त्री केदार कार्की पदमुक्त भएका छन् ।
कांग्रेस नेता कार्की २०८० असोज २८ मा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । पछि माओवादीका १३ र कांग्रेसका अन्य २१ सांसदले पनि कार्कीलाई विश्वासको मत दिएका थिए । गत चैत २६ मा एमाले र माओवादी सरकारबाट बाहिरिएपछि उनी अल्पमतमा थिए । एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि प्रदेशसभाका ९३ सांसदमध्ये कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ सहित ३३ सांसदको मात्र उनलाई साथ थियो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार अन्तिम विकल्पको सरकार भएको र दुई वर्षसम्म कसैले अविश्वासको प्रस्तावसम्म पेस गर्न नसक्ने मुख्यमन्त्री कार्कीले दाबी गर्दै आएका थिए । नेकपा एमाले र माओवादीका संसदले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएर कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश गरेका थिए । जुन वैशाख ७ को प्रदेशसभा बैठकले पारित गरेको थियो । एमाले र माओवादीले बुधबार अपराह्न नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्ति अनुसार प्रदेशसभाका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको र प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनेसम्बन्धी कुनै प्रस्ताव प्रदेशसभामा दर्ता नभएको जानकारी आएकाले बहुमत प्राप्त गर्न सक्ने कुनै सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ ।
कांग्रेस नेता कार्की गत असोज २८ मा संविधानको सोही उपधाराअनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।