कसुर किटान नगरी मुद्दा नहाल्न अख्तियारलाई विशेष अदालतको आदेश, न्यायसम्बन्धी हकविपरीतकाे अभियाेजनले अख्तियारमाथि प्रश्न

काठमाडौं । कसुर किटान नगरी मुद्दा नहाल्न अख्तियारलाई विशेष अदालतले आदेश दिएको छ । न्यायसम्बन्धी हकविपरीत काम गरेको भन्दै अख्तियारमाथि प्रश्न उठाउँदै विशेषेले उक्त आदेश दिएको हो ।

विशेष अदालतले कसुर किटान नगरी अभियोग लगाउनु न्यायसम्बन्धी हकविपरीत हुने भन्दै अख्तियार प्रमुखलाई पत्राचार गर्न आदेश दिएको छ ।

विशेषले नागरिकको न्यायसम्बन्धी अधिकारविपरीतका काम नगर्न पनि आयोगका अभियोजनकर्ताको ध्यानाकर्षण गराएको छ । विशेषको यो फैसलाले आयोगको छानबिन र मुद्दा प्रक्रियाको गहिराइ र पारदर्शितामाथि प्रश्न उठाएको छ ।

हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आंशिक ठहरको फैसला गर्दै एकजना दोषी ठहर भएका छन् भने अर्काले सफाइ पाएका छन् । अख्तियारले कसुर स्पष्ट नगरी अभियोग लगाएकाले सफाइ दिइएको विशेषले राय किताबमा उल्लेख गरेको छ ।

अख्तियारले गत पुसमा बाँकेको नरैनापुर गाउँपालिकास्थित एक मदरसा (विद्यालय)मा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो । यही मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायणसिंह राईको इजलासले कसुर किटान नगरी अभियोग लगाउनु न्यायसम्बन्धी हकविपरीत हुने आदेश गरेको हो ।

नरैनापुर– २ स्थित मदरसाका दारुल उलुम अमजदिया बरकातियाले जिल्ला शिक्षा कार्यालयबाट प्राप्त बजेट हिनामिना भएको भेटिएको थियो । आर्थिक वर्ष ०७०,७१ देखि ०७४,७५ सम्म शिक्षक तलब–भत्ता, छात्रवृत्ति, निस्शुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा पठाइएको बजेटमा अनियमितता भएको भन्दै उजुरी परेको थियो ।

सम्बन्धित शीर्षकमा खर्च नगरी तत्कालीन प्रधानाध्यापक कलिम अहमद जोलाहाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँसँग मिलेमतो गरी आफूखुसी खर्च गरेर मासेको अख्तियारको दाबी थियो । साथै, प्रधानाध्यापक जोलाहामाथि आफ्नो पदीय हैसियतले आफ्नो जिम्मामा रहेका सक्कल कागजात बरबुझारथ नगरी लुकाएको तथा नोक्सान पुर्‍याएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।

यस क्रममा १८ लाख तीन हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै अभियोगपत्र दायर भएको थियो । जसमध्ये केही रकम वार्षिक लेखापरीक्षण प्रतिवेदनले प्रधानाध्यापक जोलाहाका नाममा पेस्की बेरुजु औँल्याएको भेटिएको थियो । अनुसन्धानपछि अख्तियारले प्रधानाध्यापक जोलाहाका साथै विद्यालय व्यवस्थापन समिति अध्यक्ष खाँलाई समेत प्रतिवादी बनाउँदै १६ पुस ०८० मा मुद्दा दायर गरेको थियो । यसैमाथि बिहीबार फैसला आएको हो ।

यस मुद्दामा प्रधानाध्यापकलाई विशेषले दोषी ठहर गरेको छ । अनुसन्धानको बयान, उजुरी निवेदन, बिक्रेता भनिएका व्यक्ति, तलब–भत्ता नपाएको भनिएको शिक्षकको बकपत्रलगायत आधारमा उनीमाथि कसुर कायम भएको हो । मुद्दा दायर हुनुअघि नै अख्तियारले बिगो कायम गरेकोमध्ये आठ लाख ३२ हजार रुपैयाँभन्दा बढी बेरुजु औँल्याइएको देखिएको थियो । बेरुजुलाई संपरीक्षणको विषय भन्दै विशेषले उक्त रकम घटाई नौ लाख ७१ हजार रुपैयाँ प्रधानाध्यापक जोलाहाले भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ ।

उनलाई एक वर्ष ६ महिना कैद सजाय तोकिएको छ भने बिगोबराबर जरिवाना हुने फैसला भएको विशेषले जनाएको छ । अर्का प्रतिवादी खाँले भने सफाइ पाएका छन् । यसै मुद्दामा विशेषले नागरिकको न्यायसम्बन्धी अधिकारका विषयमा अख्तियारलाई पत्राचार गर्नसमेत आदेश गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज