धनुषा । जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये रु १४ लाख ५३ हजार बरामद गरेको उहाँले बताउनुभयो । गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको रु ८० लाख लुटिएको थियो ।
सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट रु ८० लाख रकम निकालेर लग्दैगरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारार भएका थिए । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।