तनहुँ । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गर्नुभएको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन भएको २ वर्षपछि उच्च अदालत पोखराले व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना गर्न आदेश दिएको हो ।
उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । मतगणनामा धाँधली भएको भन्दै जोशीले २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत पाँचजनालाई विपक्षी बनाई रिट दर्ता गरेका थिए । जोशीका पक्षमा पाँचजना अधिवक्ताले बहस गरेका थिए ।
स्थानीय तहको निर्वाचनअन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए । एमाले समर्थन पाएका स्वतन्त्र उम्मेदवार जोशी नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका थिए ।
आदेश अनुसार उच्च अदालत पोखराकै रोहबरमा मतगणना हुने छ । उच्च अदालतका रजिस्ट्रारले मेयर पदको मतपेटिका झिकाएर एक महिनाभित्र उच्च अदलतमा वा पोखराकै अन्य ठाउँ तोकेर मतगणना गर्नुपर्ने छ ।