काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले बिना प्रमाण र कसूर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने बताएका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
उनले प्रमुख प्रतिपक्षी दलले संसदमा प्रदर्शन गरिरहेको विरोधबाट आफूहरु आत्तिनुपर्ने कारण नरहेको भन्दै नेपाली कांग्रेसले बिना प्रमाण र कसूर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरुद्ध नहुने बताए । उनले भने, आरोपित व्यक्ति पहिले संसद्मा बोल्न पाउनुपर्छ, कांग्रेसले बोल्न पाउने अनि अन्यले नपाउने भन्ने हुन्छ ? उसले बोलेको हामीले मात्रै सुन्नपर्ने ? यस्तो संसदीय अभ्यास हुँदैन,,अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताउँदै देश र जनताका कामप्रति सांसदहरू गम्भीर हुनुपर्नेमा जोड दिए । उनले भने, मर्यादित संसदीय अभ्यासका लागि हामी समर्पित छौं, संसद् अविलम्ब सुचारू हुनुपर्छ । कांग्रेसले पनि अब संयमता अपनाउनुपर्छ ।
परिस्थितिको आँकलन गरी सबै राजनीतिक दललाई आफूहरुले मिलाएर लैजाने प्रयास गरिरहेको पनि उनको भनाइ थियो । अध्यक्ष ओलीले भने, सदनमा भोलि हामी बहस गर्न तयार भएर जाऔँ, हामीले त्यहाँ बहस गर्न पाउनुपर्छ ।
पार्टी संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलले संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा एमाले सांसदले खेल्ने भूमिका र दिनुपर्ने सुझावका विषयमा छलफल भएको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । उनले भने, सरकारमा रहेकाले सैद्धान्तिकरूपमा समर्थन गर्छाै। पारित गर्ने स्वभाविक विषय भयो तर पनि कतिपय विषयमा सुझाव दिनुपर्ने छ । केही थप विषय समेट्न सकिन्थ्यो कि भन्ने लागेको छ ।