धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।
प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजीका बीच विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो । कांग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिए । लगत्तै सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरेका थिए । विरोधका बीच सभामुख भण्डारीले मतदान प्रक्रिया अगाडि बढाएपछि नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।
सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरेका थिए।