न्यायिक प्रणालीमा AI को प्रयोग विश्वभरका न्यायपालिका, अभियोजन सेवाहरू र अन्य डोमेन तथा विशिष्ट न्यायिक निकायहरूद्वारा अन्वेषण भइरहेको छ। फौजदारी न्यायको क्षेत्रमा अपराध अनुसन्धानका लागि सहयोग प्रदान गर्न र निर्णय प्रक्रियालाई स्वचालित बनाउनको लागि AI प्रणालीहरूको प्रयोग संसारभरका धेरै न्यायिक प्रणालीहरूमा पहिले देखि नै हुँदै आएको छ।
यस क्षेत्रमा भइरहेको द्रुत विकासलाई ध्यानमा राख्दै, न्यायिक प्रणालीमा ब्क्ष् को उपयोग गर्ने सम्बन्धमा चुनौती र अवसरहरू दुवै रहेका छन्। अब न्याय सम्पादन पद्धतिमा AI को उपयोग अपरिहार्य हुने निश्चित छ। त्यसकारण मानव अधिकार र कानूनको शासनका सवालमा यसले पार्न सक्ने प्रभावहरूको बारेमा सरोकारवालाहरू बीच गम्भीर छलफल हुनुपर्दछ। त्यसको नेतृत्व न्यायपालिकाले नै लिनु पर्दछ।
आर्टिफिसिएल इन्टेलिजेन्स AI लाई सामाजिक हित र दिगो विकास लक्ष्यहरू (SDGs) को उपलब्धिमा प्रयोग गर्न सकिने प्रचुर सम्भावना छ। हालसम्म AI लाई छिटो छरितो परिणाम दिने खालका मानवतावादी कार्यहरूका महत्वपूर्ण पक्षहरूमा उपयोग गरिदै आएको छ। यसलाई सामाजिक समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्नको लागि प्रयोग गरिएको छ। हजारौं मानिसले वर्षौँ वर्ष लगाएर गर्ने काम एउटा मसिनको माध्यमबाट केही घण्टामा प्रभावकारी ढंगले गर्न सक्ने प्रविधि विकास भएकोले यसको पूर्ण क्षमताकासाथ व्यापक प्रयोग हुन थालेमा भन्न सकिन्न कि भोलिको दुनियाँमा कामका लागि मानिसको जरुरत नै नपर्ने दिन नआउला भनेर।
यदि त्यस्तो भयो भने संसार अर्थात विश्वभरको मानव श्रोत कसरी व्यस्त रहने हो। तर विज्ञान र प्रविधि पनि मानिसकै दिमागको उपज भएकोले वैज्ञानिकहरू नयाँ नयाँ विकल्प र खोजका संवाहक बनिरहनेमा दुईमत छैन। जे भएपनि न्याय क्षेत्रमा पनि AI को प्रयोग अपरिहार्य छ। तर यसले अभिव्यक्तिको स्वतन्त्रता, गोपनीयताको अधिकार, डेटा संरक्षण र गैरभेदभाव जस्ता मानवअधिकार सम्बन्धी सवालहरूको उल्लङ्घनको बारेमा पनि चिन्ता बढाएको छ। यदि AI लाई मानव अधिकारका विश्वव्यापी मापदण्डहरू, नैतिकता र कानुनको शासन सम्बन्धी मापदण्डहरूको सन्दर्भमा विकसित गरिन्छ भने एआई आधारित टेक्नोलोजीहरूले प्रभावकारी न्याय सम्पादनमा मात्र होइन मुलुकको विकासका लागि सबै पहलुहरुमा विशेषतः मानव अधिकार र दिगो विकासमा आधारित मूल्यहरूमा प्रमुख अवसरहरू प्रदान गर्दछ।
न्यायिक प्रणालीहरूले विश्वव्यापी रूपमा कृत्रिम बुद्धिमत्ता AI को प्रयोग गर्न थालेका छन्। यसको प्रयोगबाट कानुनी डेटाको ठूलो मात्राको विश्लेषण गर्न न्यायकर्मी तथा कानुन व्यवसायीहरूलाई मदत गर्दछ। नजीरहरू पहिचान गर्न, न्यायिक प्रक्रियाहरूलाई सुव्यवस्थित गर्न, प्रशासनलाई सक्षम पार्न र न्याय सम्पादनको समय अवधि कम गर्न र मुद्दाहरूमा हुने परिणामको भविष्यवाणी गर्न समेत न्यायाधीशहरूलाई सहयोग गर्दछ। एक प्रकारले धेरै तर्क र विश्लेषण गर्न नपर्ने सूत्रबद्ध मामिलाहरूमा यसले रकेट गतिमा न्याय सम्पादन गर्दछ।
एआई प्रणालीको नकारात्मक पक्षतिर हेर्दा यो अपारदर्शिता, खुला न्याय, उचित प्रक्रिया र विधिको शासनका सिद्धान्तहरू विरुद्ध जान सक्ने सम्भावना पनि भएकाले कानुनी विश्लेषण र न्यायको उद्देश्य तथा मानवअधिकारमा असर गर्छ कि भन्ने जोखिम पनि छ। अतः न्याय प्रणालीहरूमा AI प्रविधिहरूको बढ्दो प्रयोग र न्याय प्रशासनको लागि AI को प्रभाव, विशेष गरी मानव अधिकार र एआई नैतिकता र कानुनी शासनका मुद्दाहरूका लागि अवसरहरू र जोखिमहरू सल्टाउनु पर्ने चुनौति छ।
नेपालको सन्दर्भमा सर्वोच्च अदालत, राष्ट्रिय न्यायिक प्रतिष्ठान, कानुन मन्त्रालय, महान्यायाधिवक्ता, नेपाल सरकार, नेपाल बार, ल कलेजहरू संयुक्त राष्ट्रसंघीय निकाय एवं अन्य सरोकारवालाहरूको समन्वयमा यस सम्बन्धी नीति पद्धति र कानुन विकसित गरिनु अहिलेको आवश्यकता हो।