काठमाडौं । सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिलाई टुंग्याउन दलहरुबीच अन्तिम कसरत भइरहेकाे छ । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ ।
बैठक मंगलबार बिहानैदेखि शुरु हुँदै छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको छ । सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।
गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।
नेपाली कांग्रेसले आफ्ना माग पूरा गराउन सत्ता पक्षलाई दबाब दिने उद्देश्यले मंगलबार पनि वेल घेर्दै संसद बैठकमा नाराबाजी गरेको थियो । त्यही नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए ।