काठमाडौं । नेपाल बार एशोसियसनले प्रतिशोध साँध्ने उद्देश्यले राज्य शक्तिको दुरुपयोग स्वीकार्य नहुने बताएको छ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि बुधबार अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र महासचिव अधिवक्ता अन्जिता खनालले विज्ञप्ति जारी गर्दै बारको धारणा सार्वजनिक गरेका हुन ।
बारद्धारा जारी विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकारको मूल मर्मलाई आत्मसात गर्दै न्यायपालिकाको स्वतन्त्रता तथा जनआस्था अभिवृद्धि, लोकतन्त्र र मानव अधिकारको संरक्षण र संवर्द्धनमा नेपाल बार एशोसिएसनले सदैव पहरेदारी र संरक्षण गर्दै आइरहेको बताउँदै राज्यको चौथो अंगको रुपमा स्थापित सञ्चार जगतमध्ये एक प्रतिष्ठित मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयलाई घेरा हाली प्रहरी प्रवेश गराई नाटकीय ढंगबाट अध्यक्ष कैलाश सिरोहीयालाई पक्राउ गरेकोमा नेपाल बार एशोसिएसनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आलोचनालाई मुखरित गर्ने स्रोतको रुपमा रहेको पत्रकारिता जगतमाथि प्रहार गरिनु लोकतन्त्र माथिकै प्रहार हो । प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन ।
लोकतन्त्र र सभ्य समाजको आधार स्तम्भको रुपमा रहेको आम सञ्चार जगतलाई आफू अनुकूल प्रयोग गर्ने मनसायबाट प्रेरित भई राज्य शक्तिबाट गरिने दमन जस्तो अलोकतान्त्रिक कार्यले व्यावसायिक सुरक्षा माथि आँच आउने र सिंगो मिडिया समुदायलाई आतङ्कित पार्ने र अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने हुँदा यस्तो प्रतिशोध राखी सिंगो सञ्चार जगतलाई आतङ्कित पार्ने कार्यको घोर भर्त्सना गर्दछौँ । साथै, भविष्यमा समेत त्यस्ता कार्य नगर्न नगराउन सचेत गराउँदछौँ, विज्ञप्तिमा भनिएको छ ।