बुटवल । नेपाली कांग्रेस केन्द्रीय सहकारी विभागले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गर्न माग गरेको छ । विभागका प्रमुख एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले बुधबार विज्ञप्ति जारी गर्दै लामिछानेमाथि कारबाही गर्न सरकारसँग माग गरेका हुन ।
विज्ञप्तिमा बुटवलको सुप्रिम, पोखराको सुर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ९५ करोड ८१ लाख रुपैयाँ गैरकानुनी रूपमा लगानी भएको भन्दै उक्त प्रालिका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक लामिछानेमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, सर्वसाधारण जनताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकमको ठूलो हिस्सा सहकारी ऐन २०७४ र नियम २०७५ विपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा गैरकानुनी रूपमा अपचलन गरेको र सो अपचलनमा तत्कालीन कार्यकारी प्रमुख हालका गृहमन्त्री लामिछानेको संलग्नता देखिएको हुँदा उनीमाथि छानबिन गरी कारबाही हुनुपर्दछ ।
विज्ञप्तिमा सहकारी संस्थामा प्राकृतिक व्यक्ति मात्र सदस्य हुन पाउने र सदस्यहरूमा मात्रै ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्था भएपनि यसको विपरीत सर्वसाधारण जनताले जम्मा गरेको रकम अपचलन भएको भन्दै उक्त रकम तत्काल फिर्ता गर्न माग गरिएको छ । अगाडी भनिएको छ, सहकारीको वचत अपचलन गर्ने सहकारीका संचालक, कार्यकारी प्रमुख साथै गोर्खा मिडिया नेटवर्क प्रालिका संचालक एवं कार्यकारी प्रमुखलाई कानुन बमोजिम तत्काल कारबाही गरी सहकारी ऐनको दफा १२४ बमोजिम दण्ड, जरिवाना, सजाय हुनुपर्दछ र सरकारले जनतामा कानुनी राज्यको अनुभूति दिलाउनु पर्दछ ।’