जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अझै तीन दिन हिरासतमा बस्नुपर्ने भएको छ । अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप तीन दिन समय दिएका कारण सिरोहियाको प्रहरी हिरासतमा बस्नुपर्ने म्याद लम्बिएको हो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा प्रहरीले पुनः ३ दिनको म्याद पाएको छ ।
धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको म्याद थपेको हो । जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश भएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए।
इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितका सात जना वकिलले बहस गर्दै मुद्दामा सहयोग गर्नेगरी सिरोहियालाई साधारण तारिखमा छाड्न अपिल गरेका थिए ।
काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाटै मंगलबार पक्राउ परेका सिरोहियामाथि नागरिकता किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलो पटक तीन दिनको म्याद दिएको थियो ।