काठमाडौं । प्रतिनिधिसभाको आजे जेठ १३ गतेको संसद बैठक अगाडि नै सहकारी छानविन समितिको कार्यादेश टुंगो लगाउने तयारी भइरहेको छ । संसदीय छानविन समितिको कार्यादेश नटुंगिदा बजेटको मुखमा प्रतिपक्षीको घेराबन्दीमा संसद बैठक परिरहेको छ ।
सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउने प्रयासमा शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक आज बिहान नौ बजे बस्ने तय भएको छ ।
शीर्ष नेताहरुको बैठकले नै संसदीय समितिको कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुन मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलमा संयोजक गिरीसहित नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल सदस्य छन् ।
कार्यदलस्तरमा कार्यादेशमा सहमति नजुटेपछि शीर्ष तहमा छलफल हुन लागेको हो । कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री र रवि लामिछानेको नामै उल्लेख गर्ने कि नगर्ने भन्नेमा सत्तारुढ र प्रतिपक्ष दलबीच सहमति जुटेको छैन । यद्यपि कार्यादेशमा दुवै पक्ष सहमति नजिक पुगेको नेताहरुले दाबी गरेका छन् ।
शनिबार पनि कार्यदल स्तरमा छलफल पछि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए ।