काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । प्रतिनिधिसभा सदस्यहरू प्रतिमा गौतम र सपना राजभण्डारीले प्रस्तावको समर्थन गरेका छन् ।
सांसद पौडेलले शक्ति र पहुँचको दुरुपयोग गर्दै सार्वजनिक जग्गाको अतिक्रमण हुने गरेको दाबी गर्दै विगतमा अतिक्रमित सार्वजनिक जग्गालाई नेपाल सरकारको मातहतमा ल्याउन सार्वजनिक महत्वको प्रस्ताव ल्याउनुपरेको उनले उल्लेख गरेका छन् ।
काठमाडौं उपत्यका लगायत मुख्य शहरी क्षेत्रमा अपचलन भइरहेका जमिन तत्काल खाली गराई पार्क, खेल मैदान वा अन्य सामुदायिक उपयोगमा ल्याउन व्यवस्थित कार्ययोजना आवश्यक रहेको उल्लेख गर्दै प्रस्तावमा सांसद पौडेलले विश्वविद्यालय, मठ मन्दिर तथा अन्य विभिन्न क्षेत्रका बहुमूल्य जग्गा पहुँच र आग्रह–पूर्वाग्रहका आधारमा मिलेमतो गरी विभिन्न व्यक्ति, संघ संस्था तथा निजी कम्पनीलाई सस्तोमा तथा निःशुल्क भाडामा वा लिजमा दिइएको भन्दै त्यस्तो कार्य रोक्ने गरी बलियो कानुनी व्यवस्थाको गर्नुपर्ने उल्लेख गरेका छन् ।
त्यसैगरी सांसद पौडेलले दर्ता गरेको सार्वजनिक महत्वको उक्त प्रस्तावमा हालसम्म नेपाल सरकारले सार्वजनिक जग्गाको खोज तथा व्यवस्थापन गर्न बनाएका विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक गर्न र सार्वजनिक भएका प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्न पनि माग गरिएको छ ।