काठमाडौं । सांसद् गीता बस्नेत सहित २५ जना विरुद्ध पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पेश गरेको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
संस्थाको पदाधिकारी नरहे पनि बचतकर्ताको ९६ करोड बर्दियास्थित कृष्णसार रिसोर्टमा लगानी भएको देखिएपछि प्रहरीले प्रतिवादी बनाउन राय दिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बस्नेत उनका ज्वाइँ नगेन्द्र रिमाल पक्राउ परेलगत्तै फरार भएकी थिइन् । रिमाल सहकारीमा सचिव थिए ।
अनुसन्धानका क्रममा बस्नेतले ज्वाइँ नगेन्द्र, तत्कालीन अध्यक्ष योगेन्द्र पाण्डे, पदाधिकारीहरु सञ्जिवकुमार महतो लगायतका पदाधिकारीसँग मिलेर सहकारीको बचत व्यक्तिगत कारोबारमा प्रयोग गरेको पाइएको छ।