“डोन्ट डेयर विथ अ लयर”

मैले अघिल्लो पोस्टहरूमा भने की मेरो कानूनको पढाइ प्राथमिकतामा नपरेको विषय हो भनेर  आफूलाई साथीहरूको माझ दुइटा फरक फरक विधामा सँगसँगै अध्ययन गर्दा छुट्टै शान हुन्छ भन्ने बुबाको कुरामा विश्वास गरि मानविकीमा आइ. ए. दोस्रो वर्ष पढ्दा पढ्दै आइ. एल. मा भर्ना भएँ यो क्रम चल्दा चल्दै आइ. ए., आइ. एल., बि. ए., बि. एल  अनि एम. ए. सम्म पुगियो बाँकी थियो अबको भविष्य मा के पेशा गर्ने ? के अध्ययन गर्ने ? मलाई अंग्रेजी साहित्यमा राम्रो प्राध्यापक बनुँ भन्ने लागेर  बि. ए.सकिनासाथ सन १९९७ मा त्रि. बि. बि. किर्तिपुरमा अंग्रेजी विभागमा एम. ए. मा भर्ना भए भने यता नेपाल ल क्याम्पसमा बि एल अन्तिम वर्ष चल्दैथ्यो। उता एम. ए. पढ्दै यता बि. एल सक्दै गर्दाको शान नै अर्कै । सन १९९९ मा बि. एल. पनि उसबेला राम्रो सग सकियो तर पनि वकिल बन्ने सोच आएन, केवल बुबा को इच्छा पूरा गरियो आफ्नो डिग्री थपियो साथीभाइको अगाडि केटो पढ्न तगडा छ भन्ने भान पारियो । कीर्तिपुर हुँदा सम्म विद्यार्थी राजनीतिमा अति सक्रिय म, २०४६ सालको जनआन्दोलनमा स्कुल तहको विद्यार्थी संगठनको अध्यक्ष म,  बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुर देखि त्रि. बि. बि. आउँदासम्म अति सक्रिय र पटक पटक सांगठनिक झडपमा कहिले घाइते भई अस्पताल भर्ना हुने कहिले घाइते बनाउने । उफ् आफूलाई सम्झिँदा पनि अचम्म लाग्छ उसबेलाका कलेजका साथीहरू अहिले भेट्दा, होइन तिमी त्यही सरोज घिमिरे त हो ? भनेर सोध्छन् अनि एकछिन पत्याउँदैनन् । अब उनीहरूले किन पत्याउँदैनन् उनीहरूको कुरो भयो तर मेरो कुरो चाहिँ मानिसको जीवनमा एउटा मोड आउँछ जहाँ आफूलाई थाहा नपाई परिवर्तन भइने रहेछ ।

उता एम. ए. पढ्दै यता बि. एल सक्दै गर्दाको शान नै अर्कै । सन १९९९ मा बि. एल. पनि उसबेला राम्रो सग सकियो तर पनि वकिल बन्ने सोच आएन, केवल बुबा को इच्छा पूरा गरियो आफ्नो डिग्री थपियो साथीभाइको अगाडि केटो पढ्न तगडा छ भन्ने भान पारियो । 

२०४६ सालको जन आन्दोलन चल्दै थियो स्कुलहरूमा विद्यार्थी कमिटीहरू बन्दै थिए । २०४४ तिर होला सूर्य भक्त अधिकारीको घरमा गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालालाई भेटेको म, बुबाले नै राजनीति गर्नु छ भने सबैको नेता हुनु पर्छ अध्यक्ष हुनु पर्छ भन्नु भएसी जोसिएर जन आन्दोलनको बेला स्कुल स्तरीय अध्यक्ष पनि भइयो, भाषण पनि ठोकियो । क्याम्पस आयसी सक्रिय रहँदा रहँदै पनि नेतृत्व तिर लागिएन, नेतृत्व बनाउने तिर लागियो । बुबाको विद्यार्थी राजनीतिमा धकेल्नुको पछाडिको योजना पनि  नेतृत्व विकास होस, छोरो आँटिलो र समुदायका लागि काम गर्न सक्ने निडर र सामाजिक अभियन्ता होस् भन्ने रहेछ । व्यवसायमा आएसी व्यवसायिक नेतृत्व पाउन अर्कै चीज चाहिने रैछ राजनीतिक चाप्लुसी नकी व्यवसायिक स्वाधीनता र सक्षमता ।

त्री. बी. बी. कीर्तिपुरमा आयसि बढी नै राजनीति लागेछ क्यारे बुबा धेरै नै आत्तिनु भयो । काठमाडौंमा छड्के चेक गर्न आइरहने गर्नु हुन्थ्यो । बुबालाई काठमाडौं मै बसिरह्यो भने छोरो  राजनीतिमा मज्जाले डुब्छ यसको करियर सकिन्छ भन्ने पीडाबाट अलि राहत त्यति बेला मिलेछ जब म राम्रैसँग बि. एल. पास गरे बुबाले उक्साइ उक्साइ कानुन पढेको म, मेरो बि. एल. सकिएको थाहा पाउनासाथ चितवनबाट काठमाडौं आउनु भयो र भन्नु भयो कानुनमा एल. एल. एम. गर्ने भए इन्डिया पठाउँछु । मलाई त्यो भन्दा खुसी के थ्योर, इन्डिया पढ्ने त्यो पनि बुबाको खर्चमा अझ बुबालाई थाहा नहुने इन्डियामा कति खर्च हुन्छ भनेर । उता मेरा जिग्रिहरु  मुम्बई र आन्ध्र प्रदेशमा पढ्दै थिए । कहिले पुणे पुगुम अनि घुम्न निस्कूँको हतार भइसक्यो आफूलाई। त्यसै त फुर्सद हुनासाथ घुम्न निस्किने म, अनि घुम्नलाई बिभिन्न बहाना चाहिने, लाग्यो अब बुबासँग बहाना गरिरहन परेन किनकि म अबको केही वर्ष इन्डियामा हुन्छु अल इन्डिया घुम्छु रमाइलो गर्छु  अझ बुबाले पढुन्जेल पैसाको चिन्ता नगर सब म हेर्छु, त राम्रोसँग पढ मात्र” भनेको कुरामा दोस्रो वाक्य खासै याद भएन  पहिलो “पैसाको चिन्ता नगर सब म हेर्छु” ले भने मन मनमा बहुत मज्जा दियो उत्साहित बनायो। बुबालाई त गफ दिए कि मैले विद्यार्थी राजनीति छोडे, अब सिरियस भएर पढ्छु । तर मन भित्र अर्कै सपनाहरू बुनी रहेका त्यो पनि खण्डाला, लोनाब्ह्ला अनि गोवा ।

बुबाले पुणे जाने सबै व्यवस्थापन अधिवक्ता आशिष अधिकारी दाइ मार्फत दाइको बुबा ब.अ. किशोर अधिकारी अंकलसग सम्पर्क गरेर मिलाइसक्नु भएको रहेछ । यता एम.ए. को परीक्षा आधा आधी सकेर लागियो पुणे । अरु साथीहरू आफै गए, म बुबाको साथ र निर्देशनमा। फरक उद्देश्य लिएर पुणेको यात्रा तय गरेको म, अन्तर्राष्ट्रिय विद्यार्थी केन्द्रमा मेरो एल.एल. एम. भर्नाका बखत बुबाले पाइन्ट भित्रको चोर खल्तीबाट गोलो पारि बटारेर राखेको पैसाको मुठो निकाली खोली ५०, ५० डलरको नोट एक एक गरी बिस्तारै करिब १५ वटा जति गन्दै गर्दा बुबाको त्यो अनुहार अनि बुबाले आज सम्म किन कानुन तिर घुमाई घुमाई वातावरण बनाउनु भएको रहेछ भन्ने प्रत्येक घटना क्रम चलचित्रको रिल झै फ्ल्याश ब्याक हुँदै त्यो नक्कल, त्यो अदालतको कोठा, बुबाको अफिस, सभा सम्मेलन, सबका सब आँखा अगाडि एक्कासि आए । अनि अकस्मात् एकैछिनको त्यो दृश्य परिदृश्य मेरो जीवनको परिवर्तन र कानून पट्टिको यात्राको महत्वपूर्ण मोड हुन् पुग्यो । जुन बेला बुबा पाइन्टको चोर खल्तीबाट निकालेको डलर गन्दै हुनुहुन्थ्यो, मेरो आखामा कति आँशु बगे ? त्यो त थाहा भएन, तर ती आँशुले मेरो बुबा आमाको इच्छा बाहिर जाने र जीवनको  उद्देश्य बेगरको बिन्दासपनका लागि बिस्तारै बिस्तारै बगाउँदै लागिरहेको थियो एउटा सरोजबाट अर्को सरोजमा मलाई परिवर्तन गर्दै थियो । बुबाको पैसामा इन्डियामा बिन्दासको जीवन बिताउने, घुम्ने रमाइलो गर्ने भनेर अध्ययन तय गरेको म, बुबाले डलर गनी गनी बुझाएको घटना मेरो जीवन शैली परिवर्तन गर्ने घटना थियो सन २००० मिलेनियम वर्षको ।  बुबाको पैसा गनेको अनुहार हेर्दै कति रोए थाहा भएन तर त्यो आँशुले बुबाको म प्रतिको सपना बोकेर बगी रहेकोथ्यो निरन्तर । बुबाले दुखले गरेको खर्च त्यो पनि पुणेसम्म पुगेर मलाई पढुन्जेल पोलिरह्यो अनि घोचिरह्यो  मलाई २ वर्षसम्म ।  त्यो पोलाई र घोचाइ अरू केही नभई केवल प्रेरणाको थ्यो, उर्जाको थ्यो , आत्मविश्वास,  भरोसा र अठोटको थ्यो,  साहस, निष्ठा र इमान्दारिताको थ्यो । अनि केवल अध्ययन र बुबा आमाको सपना साकार पार्ने उत्कण्ठा र प्रतिज्ञाले भरिएको थ्यो । 

प्रत्येक दिन बुबाले पुणेसम्म पुगेर डलरमा फी तिरेर अन्तर्राष्ट्रिय विद्यार्थी होस्टेलमा बस्ने व्यवस्थापन गरेको र मलाई कानुनको विद्यार्थी र कानुन व्यवसायी बनाउन गरेको ति विगतका तयारीको प्रत्येक पलहरू आखा अगाडि घुमिरहन्थे र मलाई अध्ययन गरिन्जेल उत्प्रेरित गरिरहन्थे । तर पनि समय व्यवस्थापन गरेर इन्डिया त घुमी छाडे सङ्घर्षशील अध्ययन र रमाइला घुमाइका, भोगाइका अनि मित्रताका पल पलहरू यादका एलबममा कैद गरेर फर्के ।

प्रत्येक विद्यार्थीका कानुन पढ्ने आफ्नै आफ्नै कारण  हुने गर्छन, तर अध्ययनलाई न्याय दिनु भनेको पढेरै हो भन्ने लाग्छ । पढ्ने बेला मरुन्जेल नै पढ्ने रहेछ, प्रतिफल चाहिँ त्यही पढाइले दिन्छ भन्ने लाग्छ । तर पढाइ मात्र होइन पढाइका सिकाइ, घुमाई र भोगाइ  अरू कारण नी हुन्छन् चाहे आफूले कमाएर होस वा बाबु आमाको पैसा उडाएर । अब के कारणले कानुन पढिन्छ वा पढाइन्छ त्यो आफ्नै आफ्नै परिवेशका कुरा हुन । 


डोन्ट डियर विथ अ लयर 
एल. एल. एम. को अन्तिम सेमेस्टरसम्म आउँदा हामी क्लासका प्रत्येक  विद्यार्थीसँग सामिप्यमा भैसकेको थियो। फुर्सदका बेला करिब आधा भारत सकिसकेको थियो । पढाइ बाहेक अन्य अतिरिक्त क्रियाकलाप र सामूहिक सवालका विषयमा मेरो सहभागिता भै नै हाल्थ्यो  एल. एल. एम अन्त तिर सम्म आइपुग्दा हाम्रो क्लासको एउटा सोझो ज्ञानी साथीले क्लासका हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरू र केही भारतीय सहपाठीहरूलाई  उसको घरमा आउने निम्ता दियो । हामीले मन्जुर गर्यौँ । जाने दिन हाम्रो अन्तर्राष्ट्रिय विद्यार्थी होस्टेलको बाहिर अत्याधुनिक पर्यटक बस कुरिराखेको रैछ  बस देखेर डर लाग्यो यत्रो बसमा त्यो पनि अति आधुनिक एसी सहितको कहाँ जाने हो कति पैसा पर्ने हो भन्ने  मनमा खुल्दुली हुँदै बसमा बसियो  होस्टेलबाट हिँडेको बस करिब ९० मिनेट यात्रा गरेपछि एउटा कुनै ठाउँमा रोक्यो अनि हामीलाई झर्न भनियो ।  हामीलाई स्वागत गर्न फूलमाला लिएर ठुलो जमात कुरिरहेको रैछ । पछि थाहा भो त्यो बस त हाम्रो यात्राको लागि आमन्त्रण गर्ने साथीले व्यवस्था गरेको रैछ । स्वागत स्थलको गेटबाट करिब १० मिनेटको बाटो कम्पाउन्ड भित्र हिँडेपछि उसको ठूलो बगैँचाले घेरेको परम्परागत घर, गाई गोठ अनि आँगन भरि बिस्कुन भरिएको घरमा पुगियो ।  

करिब ३०/४० कामदार रहेको उसको फार्म हाउसमा हामीलाई गरिएको आतिथ्यता कल्पना बाहिरको थियो । न पहिले देखेको, न भोगेको, साउथ इन्डियाको फिलिम जस्तो । एकछिन हामीलाई चिनजान गराएपछि उसकै गाडी ट्र्याकटरमा फार्म हाउस घुम्न गइयो । आखाले देखे सम्मको जमिनमा फालेका फलफूल कुनै बागवानी फार्म भन्दा कम थिएनन् ।  महाराष्ट्रको कंकड़ (रातो ढुङ्गा, माटो बालुवा) को जमिनमा फलफूलका रुखलाई चाहिने जति खाल्डो खनी यु. पी. बिहारबाट लगेको माटोले  भरि आँप, अनार, केरा, मेवा, ड्रागन फ़्रुट, नरिवल, उखुको विशाल बगान न पहिले देखिएको थियो, न त्यसपछि देखेको छु । अति शान्त हेर्दै सोझो प्यारो क्लासमा खासै कसैसँग नबोल्ने, अन्य क्रियाकलापमा अग्रसर नहुने त्यो साथी कुनै पनि कोणबाट कानुनको विद्यार्थी लाग्थेन । झन् उसको फार्म हाउसमा गैसकेपछि त उसलाई देखेर लाग्दै लागेन  । खाना खान परम्परागत हिसाबले पलेटी मारेर लाइनमा बसेका हामी केराको पातको थालीमा खाना आयो ।

मेरो बस्ने क्रममा त्यो साथीको बुबा कै छेउमा बस्ने मौका मिल्यो अनि बिस्तारै कुरा गर्दै जादा थाहा भयो बाबु त्यो क्षेत्रका नेता एम. एल. ए. रहेछन । अनि दाजु बलिउडमा फिल्म निर्माण गर्ने रहेछन् अरु सबै टाठा बाठा हाम्रो साथी सोझो ज्ञानी देखेसी उसको बुबालाई सोध्न मन लाग्यो किन कानुन पढाउनु भएको ? किनकि मलाई बुबाले नै कानुन पढाउनु भएकोले मैले कानुन पढ्नु को नि आफ्नै कहानी थियो । अर्को तिर कानुनको अध्ययन गर्ने हाम्रो सामाजिक सोचाइ पनि अर्कै जस्तो कि कोइ आफ्नै इच्छा र उद्देश्यले पढ्ने बाहेक  धेरै बोल्ने, तर्क गरिरहने, छट्टु, टाठो बाठो, धूर्त,  खुरापाती, सब भन्दा कम नम्बर ल्याएको, राजनीति गर्ने छ भने वकिल बन्ने खाले रहेछ भन्ने हाम्रो समाज  मेरो प्रश्नमा उसको बुबाले भन्नु भो, हामीले हाम्रो छोरालाई  कानुन पढाएको  वकिल , न्यायाधीश वा सरकारी जागिर  खाओस् भनेर होइन,  हाम्रो आफ्नै व्यवसायिक वकिल छ । केवल घरमा एक वकिल छ भने हाम्रो इज्जत, पहिचान, सामाजिक प्रतिष्ठा र अरुको लागि डर होस् भनेर यो छोरालाई कानुन पढ्न लगाएको ।  हाम्रो परिवारबाट कोही कानुन पढेर वकिल भएको छ भन्ने बाहिरका मानिसलाई थाहा भएसी  कसैले पनि हामीलाई दुःख हैरानी दिने, हानी गर्ने, हाम्रो सम्पत्ति माथि आखा लाउने, ट्रेसपास गर्ने वा अन्य झैँ झमेला गर्ने आट गर्दैनन् । किन की परिवारमा एक जना वकिल छ उसलाई चलाउनु हुन्न भन्ने बुझ्छन् ।  उहाले थप्नु भयो पिपुल डोन्ट डियर विथ अ लयर इफ़ यु ह्याभ वान मेम्बर अफ फेमिली इन लिगल प्रोफेसन। हाम्रो महाराष्ट्रियन साथीले पनि आखिर बुबाकै जोडमा कानुन पढेको रै’छ तर फरक परिवेश र उद्देश्यका लागि ।

कुरो सन् २०२४ फेब्रुअरी को…
यसपालि सन् २०२४ को फेब्रुअरी महिना मा २२ वर्ष पछि पुणे पुगे छोरालाई लिएर म पुणे पुगेको थाहा पाउनासाथ त्यो साथी मलाई भेटन आयो । उस्तै शालीन भद्र प्यारो साथी कानुन व्यवसाय कम र कृषि व्यापारमा धेरै खटिने रहेछ । व्यवस्थापनमा स्नाताकोत्तर गरेकी उनको घरानिया श्रीमती उसँगै घर खेतीपाती व्यवस्थापन र आफ्नै कृषि एकाउन्ट हेर्ने रहिछिन् । पारिवारिक र व्यवसायिक रूपमा सफल र खुसी खान्दानी पाराका ।

अन्तमा…
हामी सबैले कानुन फरक फरक पृष्ठभूमि बाट पढेका हुन्छौ ।  कानुन व्यवसायी हुनलाई मात्र कानुनको अध्ययन गरिनु पर्छ भन्ने होइन रहेछ । समय बलवान हुने रहेछ  जे पढ्यो त्यही हुनु पर्ने वा हुने पनि होइन रहेछ । तर जे हुने हो त्यो चाहिँ इमान्दारिताका साथ, निष्ठा र आशावादी भएर गर्नु पर्ने रहेछ । बुबाले सधैँ त्यहीँ भन्ने गर्नु हुन्छ । कानुनको अध्ययन गर्नु आफैं नै समाजले सम्मान गर्ने, आशा गर्ने , विश्वास र भरोसा गर्ने व्यवसायीक पेशा रैछ भनेपछि कानुन व्यवसायीको महत्व कति होला । अझ अगाडि भन्दा त हाम्रो संविधानले समेत कानुन व्यवसायी अधिवक्ता बरिष्ठ अधिवक्ता भनेर संविधानका शब्दले चिनेको युनिक पेशा । यो पेशा गर्न पाउनु आफै गौरवको पेशा रहेछ, पेशा नै नगर्दा त  सामाजिक प्रतिष्ठा हुने निष्ठा पूर्वक  मर्यादित व्यवसाय गरेमा झन् कति हुने हो ? यो अमूल्य, अटल र अविरल व्यवसाय हो कानुनका लागि न्यायका लागि अध्ययनको पृष्ठभूमि चाहे जे सुकै जस्तो सुकै किन होस् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज