काठमाडौं । राष्ट्रपतिबाट उत्कृष्ट राष्ट्रसेवकका रूपमा जनसेवाश्री चतुर्थ पदकबाट विभूषित ताप्लेजुङ मालपोत प्रमुख लेखा पनेरु महतलाई विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेको छ । जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं.-४, कोप्चेबाट २०७९ बैशाख ११ गते महतलाई पक्राउ गरेको थियो ।
उनी विरुद्ध ०७९ असारमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गत १२ माघमा फैसला गरेको थियो ।
फैसलाको पूर्ण पाठमा महतले सेवाग्राहीको काम गरिदिन घुस रकम लेनदेनका लागि लामो समयदेखि बाध्य बनाएको उल्लेख गरिएको छ । उनले सेवाग्राहीसँग प्रत्यक्ष घुस माग गरेको अडियो र रकम बुझेको भिडियो अदालतमा पेस भएको थियो ।
फैसलामा भनिएको छ, निवेदकबाट पटक–पटक अनुरोध गर्दासमेत महिनौँसम्म निजको काम नगरी घुस रकम दिन बाध्य पार्नु निश्चय पनि एउटा जिम्मेवार राष्ट्रसेवक अधिकृतलाई सुहाउने कुरा होइन । सेवाग्राहीसँग रकम सौदाबाजी गरेको भन्ने कुरा पेस भएको अडियो रेकर्डको संवादबाट देखिन्छ । ‘कुनै पनि जिम्मेवार राष्ट्रसेवकले गर्न सुहाउने काम नै यो होइन । निजको यस्तो क्रियाकलापको कारणबाट नै मुलुकको सुशासन एवं सामान्य प्रशासन पद्धतिप्रति जनआस्था गिर्दै जाने देखिन्छ, फैसलामा भनिएको छ ।
घुससहित रंगेहात पक्राउ पर्नुभन्दा १० दिनअघि मात्र महतले सरकारबाट उत्कृष्ट राष्ट्रसेवकका रूपमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट राष्ट्रसेवकका रूपमा जनसेवाश्री चतुर्थबाट विभूषित भएकी थिइन । पनेरूले अदालतमा आफूलाई फसाइएको जिकिर गरे पनि अदालतले उक्त तथ्यलाई अस्वीकार गरेको थियो।