काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा परेको छ ।पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासको तेस्रो नम्बरमा रहेको छ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका कार्कीले अल्पमतमा परेको ३० दिनसम्म विश्वासको मत नलिएपछि २६ वैशाखमा प्रदेश प्रमुख परशुराम खापुङ्गले स्वतः पदमुक्त भएको घोषणा गर्दै सोही उपधारा अनुसार नयाँ सरकार गठन आह्वान गरेका थिए । सोही अनुसार २७ वैशाखमा प्रदेश प्रमुख खापुङ्गले उपधारा ५ अनुसार नै एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
सरकार गठनविरुद्ध २७ वैशाखमा नै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा उनले मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति बदर र संविधान अनुसार पदमुक्त हुने व्यवस्था नभएकाले मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको माग गरेका छन् ।
उक्त रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीको जवाफ माग गरेको थियो । ९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो ।