काठमाडौं । धनुषा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया पक्राउ गरिएको घटनाको विरोध गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष र महासचिवले जारी गरेको विज्ञप्ति फिर्ता लिनु पर्ने माग सहित विरोधमा उत्रिएका कानुन व्यवसायीहरूले बार प्राङ्गणमा टाँसेको ब्यानर जर्वजस्ति हटाइएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीहरूले विरोधका लागि राखिएको ब्यानर हटाउन लगाएर बार नेतृत्वले अधिनायकवादीपन देखाएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन ।
विज्ञप्तिमा भनिएको छ, संविधानको मर्म र भावना नेपाल बार एशोसिएसनको विधान, स्थापित मूल्य मान्यता, सिद्धान्त र स्वतन्त्र न्यायपालिकाको मर्मविपरीत निकालिएको उक्त विज्ञप्ति फिर्ता गरिनुपर्छ भनेर हामीले ज्ञापनपत्रसहित ने.बा.ए.का अध्यक्षलाई भेट्न जाँदा पहिलो दिन भेट्ने समय नै नदिएको, दोस्रो दिन अनौपचारिक छलफल गर्ने भनी बोलाएर ‘हामीद्वारा जारी गरिएको विज्ञप्ति ठिक छ तपाईँहरूको ज्ञापनपत्र हामी बुझ्न सक्दैनौ’ भन्ने अधिनायकवादी तथा गैरजिम्मेवारपूर्ण जवाफ दिएको उल्लेख गरिएको छ ।
कानुन व्यवसायीहरूले नेपाल बार एशोसिएसन आम कानून व्यवसायीहरूको हकहितका लागि अग्रज कानुन व्यवसायीहरूद्वारा स्थापित छाता संगठन भएकोले आफ्ना माग हाम्रा मागसहित नेपाल बार एशोसिएसनको प्राङ्गणमा ब्यानर टाँसेको जनाएका छन् । तर उक्त ब्यानर ने.बा.ए.का महासचिव अन्जिता खनालको निर्देशनमा हटाइएको भन्दै उनीहरूले उक्त कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा ने.बा.ए.ले जेठ ९ गते जारी गरेको विज्ञप्तिप्रति नेपाल बारका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सहित ७ जना पदाधिकारीले लिखित रूपमै वक्तव्य जारी गरी विरोध जनाएको उल्लेख गर्दै अधिकांश बार इकाईले समेत उक्त विज्ञप्ति कानुनी मान्यता विपरीत, गैरसंवैधानिक, संस्थाको विधानको मर्म र भावनाविपरीत, स्वतन्त्र न्यायपालिका माथि समेत दबाब सिर्जना गर्ने उद्देश्यले सार्वजनिक भएको भन्दै विज्ञप्ति फिर्ता माग गरिएको छ । हामीले पनि हाम्रो मागहरू प्रस्तुत गर्न पाउने स्वतन्त्रता, कर्तव्य र नैसर्गिक अधिकार ठानी आफ्ना मागहरू विधिसम्मत रुपमा राख्दा पनि हाम्रा मागहरूको बेवास्ता गरी ब्यानर नै हठात् रुपमा हटाई हामीप्रति गरिएको अमर्यादित कार्य संविधानद्वारा प्रत्याभूत अभिव्यक्ति स्वतन्त्रताको हक विपरीत रहेको कुरा प्रस्टै छ, विज्ञप्तिमा अगाडि भनिएको छ ।
लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण ढंगले आफ्ना फरक मत राख्न पाउने संविधानप्रदत्त मौलिक हक आफूहरूका लागि समेत सुरक्षित रहेको कानुन व्यवसायीहरूले ने.बा.ए दलीय राजनीतिमा आवद्धता नभएका कानुन व्यवसायीहरूको पनि साझा संस्था हो भन्नेमा हामी विश्वास गर्छौ । तर, फरकमत सहितको दबाबमूलक माग राखेर ब्यानर टाँग्न जाँदा महासचिवको निषेधात्मक कदम एवम् अमर्यादित तथा अपमानजनक व्यवहारले सिङ्गो बार एशोसिएसनको गरिमा खस्किन पुगेको महसुस भएको उल्लेख गरेका छन् । ने.बा.ए. समग्र कानुन व्यवसायीहरूको साझा संस्था भएर पनि यसका अध्यक्ष तथा महासचिवबाट देखाइएको निरंकुश कार्यशैलीले दलीय कार्यकर्ताले हामी आम कानुन व्यवसायीहरूको अस्तित्वलाई स्वीकार नै नगरेको वा गर्न नचाहेको अवस्था छ । ने.बा.ए. ले विधिको शासन, मानव अधिकार र लोकतन्त्रको पक्षमा आफ्ना धारणा सार्वजनिक गर्दै आउनुपर्नेमा पछिल्लो समय न्यायपरिषद्का सदस्य फिर्ता गर्ने तथा कानुनबमोजिम अनुसन्धानको लागि सम्मानित अदालतबाट पक्राउ पूर्जी लिएर नितान्त फौजदारी कसूर अभियोगमा पक्राउ गरिएका व्यक्तिका सम्बन्धमा स्वतन्त्र न्यायपालिकाको अस्तित्व समेत नस्वीकार्ने प्रवृत्ति विज्ञप्ति मार्फत हाबी हुँदा ने.बा.ए.मा कस्तो नेतृत्व चयन गरिएछ भनेर अहिले आएर हामीलाई दुःख लागेको उल्लेख गरेका छन ।
अदालती अभ्यासमा सक्रिय युवा कानुन व्यवसायीहरूका विचारलाई समेत प्रस्तुत गर्न नदिने र सुन्न नपाउने, दबाउन खोज्ने प्रवृत्तिको पुनः घोर भर्त्सना गर्दै अध्यक्ष र महासचिवले जारी गरेको उक्त विज्ञप्ति अविलम्ब फिर्ता नगरेमा आगामी दिनमा थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने उनीहरूले चेतावनी दिएका छन् । यसको विरोधस्वरूप युवा कानुन व्यवसायीहरूले आजबाट बार प्राङ्गणमा धर्ना समेत शुरु गर्ने भएका छन् ।