काठमाडौँ । पशुपतिको भेटी चोरी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले एक जनालाई मात्रै धरौटीमा छोडिएको छ । अरु प्रतिवादीलाई थुनामा पठाउने आदेश भएको छ । न्यायाधीश कपिलमणि गौतमको इजलासले सत्य नारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेपनि अरू प्रतिवादीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
सीसीटीभी फुटेजमा हेर्दा पशुपतिनाथ मन्दिरको भेटी चोरेको खुलेसँगै प्रहरी वृत्त गौशालाको प्रतिवादीहरूलाई हिरासतमा राखेर अनुसन्धान सकेपछि मुद्दा अदालतमा पुगेको थियो ।
भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सत्यनारायण जोशी, सञ्जय कपाली, कुमार दमाई र अनिल परियार संलग्न रहेको भन्दै अदालतमा मुद्दा पुगेको थियो ।
यसबारे बुधबार थुनछेक बहस सकिए अदालतले जोशीबाहेक सबैलाई थुनामा पठाउने आदेश गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले यिनै ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको थियो ।