काठमाडौं । नेपाली सेनाका रथी अशोकराज सिग्देलको जन्ममिति विवादमा आएको छ । उनले डेढ वर्ष उमेर घटाएर बनाएकोसहित २ वटा नागरिकता फेला परेको छ ।
सैनिक रथी सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकता र जाजरकोटबाट लिएको प्रतिलिपिमा जन्ममिति फरक छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सिग्देलले २०४० असोज ९ मा नागरिकता लिएका हुन् । त्यसबेला उनी १७ वर्षका थिए । रुपन्देहीको नागरिकता अनुसार सिग्देल २०२३ असोज ९ मा जन्मिएका हुन् ।
सिग्देलले २०५८ मा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिए । जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट लिएको प्रतिलिपि अनुसार उनी २०२३ साउन २९ मा जन्मिएको देखिन्छ ।
उनले प्रतिलिपि लिँदा पुरानो विवरणमा थपघट गरेका हुन् । सक्कल नागरिकतामा भएको विवरणभन्दा फरक हुने गरी प्रतिलिपिमा विवरण सच्याउन पाइँदैन । तर, उनले प्रतिलिपि लिँदा जन्मेको महिना र गते परिवर्तन गरेको देखिन्छ ।
नागरिकतामाथि प्रश्न उठेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सिग्देलले एउटा पत्र ल्याएका छन् । ‘जो जससँग सम्बन्ध राख्दछ’ भन्ने पत्रमा जाजरकोट प्रशासनले हामीले दिएको नागरिकता नै सही छ भन्ने बेहोरासहित जारी मिति ‘२०४० साल साउन २९’ उल्लेख गरेको छ ।
सेनाको ३ महले सिटरोलमा भएको जन्ममितिसँग भिडाउन सिग्देलले जाजरकोटबाट प्रतिलिपि लिएको आरोप छ । ३ महले सिटरोलमा उनको जन्ममिति दुईथरी उल्लेख छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ घर भएका सिग्देलविरुद्ध जेठ ९ मा राष्ट्रपति कार्यालयसहित ११ निकायमा उजुरी परेको छ । ललितपुर बस्ने नागेश्वर चौधरीले उनीविरुद्ध उजुरी गरेका हुन् । सिग्देलको वास्तविक जन्म २०२१ चैत १९ भए पनि उनले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा २०२३ माघ १९ बनाएको उजुरीमा उल्लेख छ ।
प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सुपिङ क्याम्पसबाट सिग्देलले जन्ममिति २०२३ साल माघ १९ उल्लेख गरेर ‘जो जससँग सम्बन्धित छ’ भनेर एउटा पत्र लिएको भेटिएको छ । तर, क्याम्पसको अभिलेखमा उनको जन्ममिति २०२१ नै उल्लेख छ ।
सुपिङ क्याम्पसको पत्रको आधारमा नागरिकतामा उल्लेखित १९ वर्षलाई केरमेट गरेर १६ वर्ष उल्लेख गरेर उनी २०४३ फागुनमा नेपाली सेनामा भर्ना भएको उजुरकर्ताले दाबी गरेका छन् ।
हाइस्कुल र क्याम्पसको रेकर्ड अनुसार सिग्देल २०२१ साल चैत १९ मा जन्मेको देखिन्छ । हाइस्कुल र उनी पढेको सुपिङ क्याम्पसको रेकर्डमा उल्लेख भए अनुसार उनले नागरिकतामा झण्डै डेढ वर्ष उमेर घटाएको भेटिएको छ ।
त्रिभुवन विश्वविद्यालयको रेकर्डमा केरमेट गरेर जन्ममिति २०२३ साल बनाएको उजुरीकर्ताले दाबी गरेका छन् । त्रिविको रेकर्ड सिग्देलले २०७६ साउनमा सच्याएका हुन् ।