सर्लाही । जिल्ला अदालत सर्लाहीले तपश्वी रामबहादुर बम्जनलाई बाल यौन दुराचारको कसूरमा १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जन विरुद्ध त्यस्तो फैसला गरेको हो ।
यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो । आजको इजलासले पूर्ण फैसला गरेको हो । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् ।
बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ । उनीहरु सबैलाई सिन्धुलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरीले अनुमान गरेको छ । त्यसैगरी सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको भन्दै २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जन विरुद्ध जाहेरी परेको थियो ।
सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते बम्जन विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसैका आधारमा सीआईबीको टोलीले काठमाडौंको बुढानिलकण्ठबाट गत पुस २४ गते मंगलबार साँझ बम्जनलाई पक्राउ गरेको थियो ।