काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रतिस्पर्धी उम्मेदवार सन्तोषनारायण श्रेष्ठले बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
श्रेष्ठले बोर्ड अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि २०८० मा छनोटसम्बन्धी प्रक्रिया रद्द गर्ने व्यवस्था नभएको जिकिर गर्दै प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाएका छन् ।
उनले अध्यक्ष नियुक्ति प्रक्रियाबारे पुनः सूचना प्रकाशन सम्बन्धमा कुनै काम कारबाही भए बदर गर्न माग गरेका छन् । श्रेष्ठले बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया रद्द हुनुअघिका कामकारबाहीलाई यथावत राखी उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारको नाम सिफारिस समेत माग गरेको छन् ।