सन् २००७ मा त्यो अन्तिम रातबाट सुरु गरेको बुलेट स्पीडमा भाँडा माझ्ने काम अर्को वर्ष सन २००८ को बिहानीमा गएर सकियो । बिहान हात हातै दोब्बर ज्याला लिएर म फर्के, ति साथीसँग त दोस्तीको हात भाडा सम्ममा मात्र सीमित राखेर । करिब ४५ मिनेट ट्रेनको यात्रामा मैले ट्रेन भित्र आफैलाई बिर्सेको थिए । वस सम्झेको थिए त अब कोठामा गएसी रोशुलाई भन्ने के ? कसरी भन्ने उनलाई कि म रातभरि जुठा भएर न्याय खोज्दै आएका हजारौं भाँडाहरुको सफा हुने टिलिक्क हुने अधिकारको कार्यान्वयन गर्दै थिए ।
सकिन मैले‘ अहँ मैले भन्नै सकिन । मैले आफै कुनै पनि काम सम्मानित र मर्यादित हुन्छ भन्ने उसबेला नै बुझेँ पनि, सिके पनि । अघिल्लो हप्तासम्म नभन्दा नभन्दै ति भोगाइहरू मेरो व्यक्तिगत सम्पत्ति भइसकेको थियो, मात्र समय पर्खेको थिएँ, अघिल्लो शनिबार यही फेसबुक मार्फत पोखे ।
ती साथीसँग लामो समय पछि मैले सञ्चालन गर्दै गरेको प्रशिक्षण कार्यक्रममा भेट हुँदाको रोमाञ्चक कुराले हामीलाई फेरि उही लण्डन पुऱ्यायो । मलाई एकछिन त ति साथीलाई चिन्न गाह्रो पर्यो, किनकि चिनजान त्यो साँझमा मात्र सीमित थियो अनि जसले मलाई भाँडा कसरी माझ्ने सिकाउँदै थिए म उनलाई व्यावसायिकता के हो ? व्यवसायमा श्रम कानूनलाई कसरी अवलम्बन गर्ने ? मर्यादित कामको आधारभूत कुरालाई कसरी संस्थागत गर्ने ? र कामका समानताका बारेमा सिकाउँदै थिए भन्ने कुरा मेरो कल्पना भन्दा बाहिरको कुरा थियो ।
ति साथीले एकाएक सर म त्यही भाँडा मझाउने साथी हुँ भन्दा म झसङ्ग भएँ, अनि सोधे, मैले सुनाएको हाम्रो घटनाले त्यो दिनको झल्को आयो ? त उनले भने सर तपाईंले भनेको सबै सही हो । तर पूरै होइन । किचेन भित्रको तपाईँको अवस्थाको अन्य कुरा छुटाउनु भएछ । अनि सर मैले नी आजसम्म भनेको थिइन, आज भन्छु, यस्तो संयोग होला भन्ने सोचेको पनि थिइन आज साक्षी भइयो । यो घटनाले त मलाई जिन्दगी भर छोड्दैन ।
जीवनको उकाली ओरालीको दौरानमा अर्को मन छुने घटना यस्तै प्रशिक्षण को अर्को यात्रामा उही समय तिरको घटना हो, जुन बेला संविधान जारी भएको त थिएन । तर संवैधानिक विषयमा प्रशिक्षण भने गज्जबले देशभरी चलिराखेको थियो नेपाल बार एसोसिएसनको । आजको विषयले एउटा भौगोलिक त्रासदी र अर्को हाम्रो व्यवहार र सोचले अरुको मर्यादित काम र सम्मानमा ल्याउने त्रासदीसँग जोडिएको छ । कुरो २०७२ साल बैशाख १२ गतेको हो, भुइँचालोको दिन । नेपाल बार एसोसिएसनको नेतृत्व हरि कृष्ण कार्की (पूर्व प्रधान न्यायधिस) ले गर्नु हुन्थ्यो भने महासचिबमा सुनिल कुमार पोख्रेल (न्यायधिस, सर्बोच्च अदालत) हुनुहुन्थ्यो। नेपाल बार एसोसिएसनको राष्ट्रब्यापी प्रशिक्षण कार्यक्रम थियो संविधानबाद र कानुनको शासनका, संविधान निर्माण प्रक्रिया अनि कानुन ब्यवसायीहरुको संविधान निर्माण प्रक्रियामा हुनु पर्ने भूमिकाको बारेमा । अनि यसपालीको मेरो यात्रा सुर्खेतमा थियो । नेपाल बारबाट मलाई पनि २ वटा सेसन तपाइले सञ्चालन गर्नु भनेर खटाइएको थियो, ३ दिने कार्यक्रममा । लागियो नेपालगंजको प्लेन समात्न एरपोर्ट तिर ।
फ्रलाईट टाइममा हुन नसकेको हुँदा म वेटिंग रूमको कुर्सिमा बसिरहेको थिए । एकजना व्यवसायिक पहिरनमा चिटिक्क परेकी महिला अलि हतारिएर यता उता हिडिरहेकी देखे । कहाँ जाने हो त थाहा भएन तर लाग्थ्यो मिल्ने भए आफै जहाज उडाएर जान्थिन किनकि निकै हतार र अलि बडी स्ट्रेसमा देखिन्थिन । लाग्यो कुनै व्यवसायिक मिटिङ्ग छुट्ने वाला छ, जहाज ढिलो भएको हुनाले । मोबाइलमा रिस आवेगसँग कुरा गर्न नरोकिएकी उनि बारम्बार डेस्कमा जाँदै प्लेन उडानका बारेमा सोध्थिन । पछी मेरो मनमा लग्यो उनि मिटिङ्ग भन्दा पनि अरु कुनै अपर्झट कामको लागि यात्रा गर्दै थिइन ।
भिडभाड थियो परिचय गर्नु नि भएन भन्ने लाग्यो । सोध्न नि सकिन । तर कता कता कुनै ब्यापारिक कानूनी समस्या छ कि जस्तो लाग्यो उनको व्यक्तिगत अटाइर हेर्दा । तर बेनाम यात्रुहरुसँग कुरा गर्न मिलेन । एकछिनमा जहाजले बोलायो संयोग होला एउटै सिटमा परिएछ । जाहज उड्ने बेला झन् निकै आत्तिएकी उनि उडुन्जेल समेत धैर्यता देखिएन तर बोल्न नि चाहिनन ।
आफु त कानुन ब्यबसायी पेशा नै बोलेर बाच्नु पर्ने । फेरी नयाँ ठाउँ जाँदा एकछिन भएनी नयाँ मानिस भेट्ने कुराकानी नेट वर्किङ गर्ने, कानुनका कुरा गरेर आफु वकिल हुँ भन्ने परिचय दिने, उस्तै परे कानूनी सल्लाह दिएर क्लाइन्ट बनाइहाल्ने । कानुन ब्यबसायमा यस्लाई नेट वर्किंग भन्छन । यी व्यवसायिक महिला जोसँगै बसेकी छिन करिब २ मिनेट जति नबोलेपछि सोध्न मन लाग्यो तपाई कहाँ जादै हुनुहुन्छ ? जवाफमा अलि रुखो पाराले भनिन यो जहाज काँहा जान्छ ? मैले भने जहाज त नेपालगँज जान्छ, म सुर्खेत जाने । उनले म नेपालगँज जाने हो भनिन चुप बसिन । उनको बोलाइमा केहि दर्द भए जस्तो लग्यो अनि एकछिनमा सोधे तपाईलार्इ प्लेन चढ्न डर लाग्छ । उनले स्वीकारिन अनि मैले भने संसारमा सब भन्दा सुरक्षित यात्राको साधन भनेको प्लेन हो । उनले पत्याईन्न । अनि भने १ दिनमा लाखौ मानिस संसार भरि प्लेन चढ़छन् तर कहिले काही मात्र दुर्घटना हुन्छ । केहि भैहाल्यो भने चाहिँ केहि भन्न सकिन्न । दुर्घटनाको हिसाब हेर्ने हो भने गाडीको यात्रा झन् डरलाग्दो हुन्छ । मर्नेहरुको संख्या अति । त्यसकारण तपाईं ढुक्क भएर बस्नुस यो पहाड तिर होइन तराई तिर हो । केहि हुन लाग्यो भने भेरी नदिमा ल्यान्डिङ गर्छ, पौडी खेलेर निस्किने । बरु तपाइलाई पौडी खेल्न आउँछ कि आउँदैन ?
एकछिनको मौनता पछि फेरी सोधें तपाई बैङ्कर हो ? उनले भनिन् हो । कसरि थाहा पाउनु भयो ? तपाईको स्टाइल हेर्दा बैङ्कर जस्तो लाग्यो । मलाई सोधिनन् तर मैले भने म कानुन ब्यवसायी वकिल हुँ । मेरो कुरा सुन्नासाथ उनले भनिन ओहो जिन्दगीमा एस्तो पनि दिन आउने रैछ है वकिलसँगै यात्रा गर्न पाइने । उनको त्यो उत्तरमा मलार्इ कता कता यी महिला कानुन ब्यवसायीको खोजीमा छिन्, यिनी पक्कै पनि कुनै कानूनी उल्झनमा छिन भन्ने लाग्यो । मलाई अब यिनको कानूनी समस्या भित्र छिर्नु थियो । किनकी मलाई क्लाइन्ट चाहिएको थियो । मैले सोधे तपाई कुन बैंकमा काम गर्नु हुन्छ ? खोइ के बैंक भनिन याद त छैन तर त्यसपछी मैले बैंकिंङ बिषयका बारेमा हल्का कुरा सुरु गरें । तर उनको त्यत्ति प्रतिक्रिया थिएन, सामान्य उत्तर बाहेक । मैले कुरा तान्दै लगे किन कि मलाई यिनको जागिर मात्र होइन कुन पोजिसन हो ? र मलाई काम दिन सक्छिन कि सक्दिन्न थाहा पाउनु थियो । एकछिनको सामान्य छलफलमा यती बेला सम्म म पक्का भैसकेको थिए कि यिनी बैङ्कर होइनन्, बैङ्कर लुक मात्र । उनले फेरी सोधिन तपाईंले कसरी म बैंकमा काम गर्छु भन्नु भयो ? मैले फेरी भने तपाइको स्टाइल, लुगा, हिडाई अनि हाउ भाउले सुरुमा बैंकमा काम गर्ने जस्तो लागेको थियो तर अहिले म कन्फर्म छु तपाई बैंकमा होइन ।
उनले सोधिन कसरि ? म के काम गर्छु त ? मेरो जवाब थियो काम त पक्का गर्नु हुन्छ तर के काम गर्नु हुन्छ थाहा छैन । तर तपाइँ बैङ्कर होइन । बैंकमा काम गर्नेको बोलिमा लोन, नाफा, लगानी, अर्थ, भौचर, लेजर, केहि त झल्किन्छ ।
उनले त्यो सुन्नासाथ अप्ठेरो मान्दै भनिन, म ठमेलको डान्स बारमा डान्सर हुँ । यति बेलासम्म मलाई उनको त्यो कुरा पत्याउन खासै गारो भएन एकदमै सहजताका साथ लिए । यो सुने पछिको मेरो पहिलो प्रश्न थियो तपाईलाई अप्ठेरो लाग्दैन जवाब दिन भने तपाइँ महिनामा कति कमाउनु हुन्छ ? उनले सजिलै भनिन् हुन त पच्चिस हजार हो महिनाको तर अलि दिलदार ग्राहकहरु आए भने महिनामा १० देखि २० हजार सम्म टिप्स जम्मा हुन्छ । मलाई लाग्छ त्यति बेला त्रि. बि. बि. का उप प्राध्यापकको मासीक तलब ३३ हजार थियो ।
उनले उप्ठेरो मानि बार डान्सर भनेको कुराले मलाई फेरी लन्डनको २००७ को अन्तिम रात याद दिलायो अनि भने हेर्नुस मैले नि मज्जाले भाँडा माझेको छु । अनि खेतमा सिमि टिप्ने खेताला समेत बनेको छु । त्यो पनि म कानुन ब्यवसायी भैसकेपछि। कामले कसैलाई केहि फरक पर्दैन फरक सोचमा मात्र हो । उनले अप्ठेरो मानि डान्सर भनेको कुराले मेरो मन छोयो । अनि सोचे यार यो हाम्रो समाजको कस्तो मानसिकता हो, बैंकमा बैंकरको जागिर खाने महिला आफ्नो पुरा तलबले नपुगेर परिवारसँग मागी आफु माथि खर्च गरि शानले म बैङ्कर भन्छिन, अर्को तर्फ एक सामान्य महिला जो कडा मिहेनतले परिश्रम गर्छिन अनि महिनामा पैतिस चालिस हजार कमाउँछिन् तर पनि सानले म बार डान्सर हुँ भन्न सक्दिनन् । अनि आफ्नो पेशा लुकाएर अन्य कुनै काम गर्छु भन्छिन ।
कस्तो समाज हाम्रो कामलाइ पनि गर्बले भन्न नसक्ने, हामि कति समानताको कुरा गर्छौ तर पेशाको पहिचान, सम्मानमा किन यो असमानता ? कसले गर्यो कामको विभेद ? किन मलाइ लन्डनमा हुँदासम्म कामको प्रकृतिले सतायो । आफुलाई सानो अनुभूति गरायो । कयौं प्रश्न मेरो मनमा आए । तर मेरा लागि यो अर्को वास्तविक घटना थियो जसले मर्यादित कामको बारेमा वकालत गर्न ठुलै ज्ञान दियो ।
मेरो मन र मानसपटलमा सयौ कुराहरु खेलिरहेका थिए । उनलाई मैले अर्को प्रश्न सोधें । सुन्नुस न तपाई केहि कानूनी समस्याको उल्झनमा हुनुन्छ जस्तो लाग्यो हो ? उनले तुरुन्तै भनिन म मेरो श्रीमानलाइ मार्न जान लागेको । तपाइको कानुन अनुसार मैले उनलाई मार्न मिल्छ ? मैले जवाब दिए हैट के कुरा गर्या तपाइले ? श्रीमानलाइ त के कसैलाई नि मार्न मिल्दैन । अहिले जनावरलाइ त मार्न पाइदैन । मेरो यो कुरा सुन्दै गर्दा उनको आँखामा डरलाग्दो क्रोध थियो अनि नरोकिएको आँशु । क्रोध नरोकिदै प्लेन रोकिने बेला भैसकेको थियो भन्ने सूचना विमानकर्मीबाट आयो । अब एकछिनमा झर्नु थियो, अनि आ आफ्नो बाटो लाग्नु थियो । उनलाई म सँग केहि भन्न मन लागेझैँ गरि अनि समय माग गरेझैँ गरि उनले निकै पीडादायी स्वरमा भनिन सर म पनि कोहलपुरसम्म जान लाको तपाइको गाडीमा जान सक्छु । यती बेलासम्म मलाई सुर्खेत लैजाने गाडी बाहिर तयार थियो । मैले हुन्छ हिड्नुस भने । गाडी भरि उनले भोगेकी घरेलु हिंसाको डरलाग्दो कहानी सुनाइन । बचपन देखि अहिले ठमेलसम्मको जीवनमा के सामना गर्नु पर्यो ? ठमेल जाने भलाद्मीहरुले कसरि ब्यवहार गर्छन ? कसरि आफु नाँच्दा नाच्दै मोल मोलाई हुन्छ ? कसरि भेदभाव गर्छन ? भन्ने देखि लिएर श्रीमानले गर्ने घरेलु हिंसा, छिमेकिले हेर्ने नजर अनि त्यसको मारमा घर अनि बच्चा । संघर्षका डरलाग्दा बास्तविकता । अनि अहिले हतार हतारमा कोहलपुर आउनुको कारण चै श्रीमानले आफुले कमाएको सबै लिएर अहिले अर्कै बिहे गर्ने तयारी गरेको सुनेकी रहिछिन । अनि त्यसको आवेगमा श्रीमानलाई नै बध गर्न हिडेकी उनी मलाई आफ्नो कथा व्यथा सुनाई सकेपाछि हल्का महसुस गरिन । अनि सम्हालिएर भनिन सर म के गरि बाँच्ने ? मेरो श्रीमान अर्कैसँग बिहे गर्दै छ । फेरी यहाँ कसैलाई नि थाहा छैन म डान्स बारमा काम गर्छु । मैले उनलाई कोहलपुर पुग्दासम्म मनोसामाजिक परामर्श दिनु पर्यो ।
म कानूनी सेवा दिई सेवा शुल्क लिन उक्सेको मानिस मनोसामाजिक परमर्शकर्ता भए । अनि छुट्टिने बेला उनलाई अब कसरी बढ्ने ? न्याय कहाँ गएर खोज्ने ? कानुनि प्रक्रिया के हो ? कसरि कानुन ले संरक्षित गरेको छ ? सवै बेलिविस्तार लगाई सकेपछि उनको कानूनी उपचारका लागि म आफैले निः शुल्क कानूनी सहयोग गर्ने बाचा गरेर म आफ्नो प्रशिक्षण तिर लागे ।
काठमाडौँ फर्किएपछि केहि समयसम्म कानूनी सल्लाह जारी रह्यो अनि एकदिन उनले आफ्नो हक सुरक्षित गरिन । डान्स बारमा हुने दुर्ब्यबहारसँग मज्जाले लडीन । अनि एकदिन खुसि हुँदै मलाई भेट्न हर्सका साथ एक बकस आँप बोकेर आइन । त्यो आँपमा पाएको स्वाद अमुल्य थियो । अनि जीबन भरिलाइ पुग्ने प्रसाद ।
उता सुर्खेत हल्लिदै थियो
उनीसँग छुट्टि सकेपछीको महत्वपुर्ण पाठ मलाइ मिल्यो । कि अब पनि हाम्रो संविधानले महिला हिंसा र महिलाको समावेशीतामा ध्यान पुर्याएन भने संविधानको के काम ? महिलाको वास्तविक संरक्षण गर्न र मर्यादित कामको सुनिश्चित गर्न जहिलेसम्म सक्दैनौ हाम्रा कानून सबै अक्षरमा मात्र सिमित हुन्छ । मनमा धेरै कुरा थिए धेरै नै सामाजिक अवस्थाले मन हल्लिरहेको थियो । सिद्धार्थ होटेलको कम्पाउण्ड भित्र के छिरेको थिए, गाडी बेजोडले हल्लियो लाग्यो कुनै खाल्डोमा पर्यो होला। होइन रहेछ भुँर्इचालो पो आएको रहेछ । देश हल्लाउने गरि, अस्त व्यस्त गर्ने गरी त्यो विनासकारी भुइचालो २०७२ वैशाख १२ को । हतार हतार कालो कोट लगाएका वाकिलासाबहरु दकुर्दै बाहिर आउनु भयो गोबिन्द बन्दि जी सँगै । बन्दि जीको सेसन चलिराखेको रहेछ । एकैछिनमा थाहा भयो कि काठमाडौँमा धरहरा ढल्यो रे । अनिसँगै रहेको साथी लक्ष्मी रावल जीको पुरानो घर पुरै भत्कियो रे । उहाँहरु दुबै जाना हामि आएको गाडी मा काठमाडौँ नै फर्किनु भयो । म भने डर मानि मानि बसे घर सँम्झे । फोन गरें । सबैजना घर छोडेर बारीमा गएका तर सुरक्षित भएको कुराले हल्का शान्त त बनायो । तर फर्किने सम्भावना नै थिएन । आफूलाई सम्हाले अनि जसो तसो गरि आफ्नो सेसन सके किनकि संविधान निर्माणमा कानुन व्यवसायीको भुमिका , संविधानवाद र कानुनको शासनमा कुरा गर्नु पनि अति जरुरी थियो । एकछिन अघिकोको महिला हिंसाका कुरालाइ र मर्यादित कामको अधिकारलाइ कानुनको शासन सँग ब्यवहारिक रुपमा जोडेर हेर्न राम्रो अवसर लिनु पनि थियो ।
महिला हिंसा माथि सीमित व्यक्तिको ब्यवसाय
मलाई व्यवसायिक जीवनमा मिलेको त्यो खुसि मेरो व्यवसायको प्रेरणा रहेको छ । हामीले हाम्रो वरिपरी देख्ने यी कथाहरु प्रतिनिधि पात्र मात्र हुन् । महिलाहरुले सहनु पर्ने यौन दुर्व्यवहार, घरेलु तथा लैंगिक हिंसा, असमान ब्यवहार र विभेद अनि सुरक्षाका कति घटनाहरु हिजो आज धेरै सुनिन्छन् । कानूनी सहायता अपुग छ, अनि प्रो बोनो देखाएर संघ सस्थाबाट रकम असुल्ने अभियानकर्ताहरुको जमात डरलाग्दो छ । महिला हिंसाका मुद्दा राष्ट्रिय रुपमा चर्चा हुँदासम्म चुप रहने अभियानकर्ताहरु देख्दा उदेक लाग्छ । पिडितलाइ बेच्नेहरु कम छैनन् । पिडितलाइ पिडित कै मानिसहरुले पिडितको कथा बेचेको मज्जाले देखिन्छ । कानूनी सहायता र निशुल्क कानूनी सेवाको प्रतिफल न हुन्छ, न खोज्न मिल्छ ।
हो, हामीले कामलाई धेरै फरक गरेर हेर्यौं सामाजिक प्रतिष्ठासँग लगेर जोड्यौ । बाराक ओबामाको छोरी रेस्टुरेन्टमा काम गर्दा झन् सम्मान हुने, राजकुमार विल्लियम, ह्यार्रीले होटेलमा काम गर्दा सम्मान हुने अनि हामी र हाम्रा दिदि बैनी अनि दाजु भाइले त्यही काम गर्दा अपमान हुने ? कानुनले त काममा विभेद नगरेको हाम्रो देशमा, विभेद गर्ने सोचको समाज कहिले परिवर्तन गर्ने हामीले ?
हामि कानून ब्यवसायी माथिको ठुलो आशा हो कि हाम्रो वकालत एकदिन कामको असमानता हटाऊ न सक्षम हुने छ । मैले निःशुल्क सहयोग गरेको ति महिला अहिले ठमेलमा छिन कि नेपालगञ्ज छिन थाहा छैन । तर उनले भोगेको नमिठो व्यवसायिक यात्रा र मैले गरेको काम ले मलाइ हजारौ मानिसलाई मर्यादित कामको सम्मानजनक कामको अवधारणा र हाम्रो सोचको परिवर्तनकालागि एउटा नबिर्सिने घटना भएको छ । ती महिला जो आफ्नो कामको बारेमा लुकाइरहेकी थिइन्, अन्ततः आफनो लागि लडेरै छाडिन् र न्याय लिएरै छाडिन ।
अन्त्यमा, ति महिला जो आफु बैङ्कर हुँ भन्ने देखाउन खोजेकी थिइन् चिच्चाई चिच्चाई भन्न चाहन्छिन कि म बार, रेस्टुराँमा नाच्छु, मज्जाले नाच्छु तर मलाई मेरो समाजले किन खुलेर नाच्न दिदैन । के मैले गरेको काम खराब हो ? किन हाम्रो समाज कामलाइ विभाजन गर्छ ? किन काम प्रति हेर्ने धारण फरक गर्छ ? उनि भन्छिन सक्नु हुन्छ, सम्मान गर्नुस्, सक्नु हुन्न, अपमान नगर्नुस । अहिले तपाईका छोरा छोरी पनि विदेशमा हामीले गर्ने जस्तै काम गर्छन । विदेशमा गर्ने काम ठुलो त्यै काम नेपालमा किन सानो ?
काम, काम हो, मर्यादित हो, चाहे विदेशमा होस, चाहे नेपालमा होस।