विपश्यना र कानूनी पेशा    

 
विगत केहि समय देखि कानून व्यवसायी र कर्मचारी बीच सामान्य विषयलाई लिएर धकेला धकेल भइसकेपछि उक्त विवाद प्रहरीसम्म पुगेको थियो । पछि नेपाल बार एसोसिएसन समेतले निरन्तर दबाब दिएपछि विवाद साम्य भएको थियो । यो घटना ललितपुर जिल्ला अदालतको हो । हालै काठमाडौँ जिल्ला अदालतको गेटमा न्यायाधीशकै अगाडि वकिल र प्रहरी कर्मचारीको बीचमा पनि हातपातको घटना बाहिर आएको छ । हुन त यस्ता घटनाहरू सामान्य भएपनि पेशागत रुपमा व्यवसायिकता
को हिसाबले राम्रो मानिदैन । मानिसको मानसको स्तर के कस्तो अवस्थासम्म जान सक्छ भन्ने अवस्थाको लागि प्रतिनिधि घटनाहरूको रुपमा लिन सकिन्छ ।

हामी जन्मदै प्राकृतिक रुपमा हात खुट्टा, आँखा, कान लिएर जन्मेपनि सोसँगै पूर्वजन्मका सङ्ग्रहित तत्त्वहरू पनि साथै लिएर आएका हुन्छौँ । यसले हाम्रो स्वभाव निर्माण गर्दछ । सही तरिकाले यसको व्यवस्थापन हुन सकेन भने हामी दम्भी, लोभी, पापीमा परिणत हुने रहेछौ । पेशाले कानून व्यवसाय पनि सम्मानित पेशा हो । वर्ल्ड इकोनोमिक फोरमले प्रकाशित गरेको आँकडा अनुसार दोश्रो इज्जतदार पेशा भनेको कानून व्यवसाय रहेछ । पेशा कानूनको गर्ने अनि विवाद मिलाउनेले आफै विवाद निकाल्ने भन्ने कुरा शोभनीय हुन सक्दैन । कर्मचारी र प्रहरीको भन्दा बढि जिम्मेवारी कानून व्यवसायीको रहेको हुन्छ । कानून व्यवसायीलाई लिखित रुपमा विद्वान समेत भनेर भनिन्छ । यस्तो इज्जतदार पेशालाई अमर्यादित तवरले प्रस्तुत गर्दा समग्र कानून व्यवसाय प्रति समाजको हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको महसुस भएको छ ।

कानून व्यवसायीलाई बैङ्कले ऋण नदिने कारण के रहेछ भन्दै बुझ्दै जाँदा हाम्रा अग्रज कानून व्यवसायीहरूले हालसम्म पनि नेपाल राष्ट्र बैङ्कबाट ऋण लिएर नतिरेको कारणले नकारात्मक सूचीमा राखिनु पनि एउटा कारण रहेछ । हाम्रा अग्रज कानून व्यवसायीहरूले विपक्षीलाई सल्लाह दिएर पक्षको तर्फबाट वकालत गरेको पनि देखिएकै छ । नेपाल बार एसोसिएसनको भूमिका यस विषयमा महत्वपूर्ण हुन सक्थ्यो तर त्यसो हुन सकेको छैन् । समाज सुधारको लागि अग्रणी भूमिका निर्वाह गर्नुपर्ने कानून व्यवसाय दिनानुदिन बत्तर बन्दै गएको महसुस हुन थालेको छ । यो सबै मानसिक चेतनाको उपज हो भन्ने लाग्छ ।

जन्मदै आखा खोल्न जानेपछि आँखा बन्द गरेर आफू भित्रका सद्गुण दुर्गुणको दर्शन गर्न हामीले जानेका छैनौ । कसैले सिकाएको पछि छैन् । जब आफू भित्र हेरेर आफूलाई सुधार गर्ने अवस्थासम्म मान्छे पुग्दैन विश्वका जतिसुकै पुस्तक लेख रचना पढेपछि मानसिक प्रतिक्रिया गर्ने स्वभाव जस्ताको तस्तै रहन्छ । चोह वकिल होस् चाहे अन्य कोही । मानसिक प्रतिक्रिया गर्ने मनको दमन नहुन्जेलसम्म समाजको अवस्था माथि वर्णित दुई प्रतिनिधी घटना भन्दा पर जान सक्दैन् ।
सिमित कानून व्यवसायीहरु काठमाडौँ उपत्यकामा कानूनको अभ्यास गर्दछौं । त्यसमा पनि अधिकांश मुद्दा वा केशहरु सिमित वर्गका कानून व्यवसायीहरुमा रहेका हुन्छन् । यस्ता केशहरु एउटा सर्कलमा घुमेपछि त्यो भन्दा बाहिर आउनै सक्दैनन् । सबै कानून व्यवसायले मुद्दा पाउने सम्भावना पनि कम हुन्छ । यसले गर्दा एकै कानून व्यवसायीको फर्ममा एकैदिन २९ वटा मुद्दाको पेशी समेत रहेको देखेको थिए । हामीकहाँ कामको बाँडफाँट गर्ने चलन पनि छैन् । एकैजना गधाको जसरी उल्टो र सुल्टो बहस गर्न एक्लै भौतारिएको हुन्छ । न निन्द्रा, न भोक न आराम न त मानसिक शान्ती केही पनि पाउन नसक्ने रहेछ । यस्तो अवस्था पनि स्वस्थ्यकर मान्न सकिदैन । समान्य मानिसलाई कम्तिमा आराम र ध्यानको आवश्यकता पर्छ नै । यस्तो व्यस्त जीवनमा सबैलाई ‘ध्यान’ अपरिहार्य रहन्छ । त्यसमा पनि कानूनको क्षेत्रमा आबद्ध सबैको लागि यो अत्यन्तै आवश्यक रहेको महसुस हुने गदर्छ । हरेक मनुष्यको दिमागमा शान्ति, काँधमा जिम्मेवारी र हृदयमा इमान्दारिता रहेसम्म देश विकासमा यसले टेवा नै पु¥याउने हो । तर, यस्ता तत्वहरुको अभावमा समाजमा एकतप्का माथि जाने र अरुको अवस्था झन खारब हुने हुन्छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको विकृति विसंगति अन्त्य गर्नको लागि तयार पारिएको प्रतिवेदन होस वा १०९ दिने अदालत समेत बन्द हुने गरि गरिएको आन्दोलन यी सबै स्वार्थ पुर्तिका लागि तयार गरिएको परिपञ्च थिए भन्दा फरक नपर्ला । डाहा इश्र्या र लोभको उपज हुन यस्ता प्रवृत्ति ।

भ्रष्टाचारको कमाइले कसैको भलो भएको देखिएको छैन् । मुद्दामा पनि वकिलले गलत मुद्दाका पक्ष–विपक्षीलाई जिताउने गरी लिइएको मनलाग्दी रकमले घरमा शान्ति हुँदैन । यो अनुभव गरेर हेर्ने कुरा हो । धेरै कर्मचारी तथा वकिलहरुको विगत, वर्तमान र भविष्य हेर्दा पनि टाढा–टाढासम्म पनि गलत तरिकाले आर्जन गर्नेहरु कसैको पनि राम्रो संकेत पाउन सकिएको छैन । स्वस्थ, इमान्दार भएर यो जीवन बाँच्न गाह्रो अवश्य भएपनि असम्भव भने पक्कै छैन । यसलाई सम्भव बनाउन वा सदाचारको जीवन जीउनको लागि हामीले नियमित मानसिक शान्ती दिने साधनाको अभ्यास अवश्य गर्नुपर्छ ।
२६०० वर्ष पहिले बुद्धले जन्म लिएर मानव जीवनको कल्याणको लागि शिक्षाको खोजि गर्नु भएको थियो । राजघरानामा जन्मेर पनि दुःख के हो भन्ने कुराको उत्खनन गर्न वहाँले आफ्नो सारा सुख सुविधा पारिवारिक सुखको त्याग समेत गरेर सुख शान्तीको मार्ग पत्ता लगाई सबैलाई दुख विमुक्तिको मार्ग सिकाउनु भएको थियो । यहि साधानाको नाउँ हो विपश्यना । पाली भाषाको ‘पश्यना’ भन्ने शब्दबाट विपश्यना आएको हो । पश्यनाको अर्थ ‘हेर्नु’ अर्थात् आँखाले बाह्य रुप आकृति हेर्नु हो भने ‘विपश्यना’ आफ्नो शरीरमा भइरहेका गतिविधिहरुलाई विशेष किसिमले हेर्नु वा जस्तो रुप आकृतिमा देखिन्छ सोही रुप आकृतिलाई हेर्नु भन्ने हो । शरिरमा हुने विभिन्न किसिमका हलनचलनलाई हेर्नु भन्ने विषय विपश्यनासँग सम्बन्धित छ । विपश्यना ध्यान शिविरमा यसैको अभ्यास गराइन्छ । यसले १० औं दिनमा जुन मानसिक हलुकापन ल्याउँछ त्यो अतुलनीय हुन्छ । यसबाट हाम्रा मानसको स्तरमा रहका विकार (खराब कर्म संस्कार) हरुलाई हटाउन सहयोग गर्छ र हामीलाई पेशा व्यवसायमा वाणि, व्यवहारले परिवर्तन भएको महसुस गराउँछ ।

विपश्यना सिकाईका तीन चरणहरु छन्—शील, समाधि र प्रज्ञा । यसको अभ्यासले मान्छेमा दुःख हट्दै जान्छ । द्वेष, घृणा कम भएर चित्त करुणा र प्रेमले भरिन्छ । विपश्यना साधना अभ्यासले आश्चर्यजनक गहिराईबाट मनलाई खुशीको उच्च तह अर्थात् मुदिताको अवस्थामा पु¥याइदिन्छ । जुनकुनै सम्प्रदाय, राष्ट्रियताको पृष्ठभूमि भएको मान्छेले विपश्यनाको अभ्यास गर्न सक्छ । आफ्नो बानी व्यवहारमा परिवर्तन ल्याई शान्ति र आनन्दको जीवन जिउन सक्छ । विपश्यना अभ्यासले मन शुद्ध गरी रिस, घृणा, प्रतिशोध कम बनाई चित्त खुशी, करुणा र प्रेमले भरिदिन्छ । विपश्यनाका केन्द्रहरुमा ध्यान बाहेक अन्य कुनै पनि काम गरिँदैन । एउटा ध्यान शिविरपछि अर्को शिविर गराइन्छ, बस् ! मेरो आफ्नो अनुभूति र अरुको अनुभवबाट पनि यसको लाभैलाभ रहेका छन् । हामी कानूनका विद्यार्थीलाई पनि यसको महत्व रहेको हुन्छ ।

काठमाडौं उपत्यकामा कीर्तिपुर, बुढानिलकण्ठ र ललितपुरको कोटडाँडामा नियमित शिविरहरु संचालन भइरहन्छन् । अनलाइनमा आफ्नो सुविधा अनुसार फर्म भरेर समय निश्चित गरि ध्यान गर्न सकिन्छ । हामी कानून व्यवासयीहरु बढि जिम्मेवार हुन यो अपरिहार्य रहेको छ । गत वर्षको तलनामा विपश्यना साधनातर्फ आकर्षण बढ्दो रहेको छ । यसका लाभ लिनेहरुले साझा गरेको अनुभवको आधारमा मानिसहरु यस साधनातर्फ आर्कषित हुने हुन् । श्रावणको पहिले हप्तामा अदालतमा कामको चाप पनि कम हुने भएका कारण यो समय हाम्रो लागि निकै महत्वपूर्ण भएको हुनाले पनि नेपाल विपश्यना केन्द्रसँग कुरा गरेर झन्डै १२५ कानून व्यवसायीहरुको लागि व्यवस्थापन गरिएकोमा अदालतका केही मुद्दाको सुनुवाई हुने भएका कारण पनि कतिपय कानून व्यवसायीहरु जान नपाउने अवस्थामा पुग्नु भएको छ ।

अतः न्यायपालिकाको शुद्धिकरण होस चाहे न्यायपालिकाको पुनर्संरचना जे हो हाम्रो मानसको पुनर्संरचना नगरेसम्म यो सम्भव कुरो होइन तर राजनीति गरेर आफ्नो अभिष्ट पुरा गर्ने साधन भने पक्कै हो । ध्यानबाट जीवन निर्माण गरेर मानिसको चोलालाई मुक्त अवस्थामा पुगाउनु हामी सबैको एउटै उद्देश्य हुनु पर्छ । यो कलह, झै झगडाले हामीलाई अन्तमा हातपात मै पुगाउने हो वा यो भन्दा उग्र बनाउने हो । साम्य हुने देखिदैन । त्यसैले सबै कानून व्यवसायीहरु ध्यान गरौ समाज निर्माण गर्नमा हाम्रो जीवन सार्थक बनाउन सहायक बनाऔं । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज