न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम शुरु गरेपछि सडक डिभिजन कार्यालय काठमाडौंले गत जेठ १३ गते र १६ गते महानगरपालिकालाई पठाएर काम रोक्न भनेको थियो । विभागको पत्रका विरुद्ध महानगरले उच्च अदालतमा रिट दायर गरेको थियो । उच्च अदालतले पत्र यो रिटको अन्तिम टुंगो नलाग्दासम्म यथास्थितमा राख्न अन्तरिम आदेश दिएको हो ।

उक्त रिटमा सुनुवाइ गर्दै उच्च अदालतले सार्वजनिक सडक ऐन २०३१ मा २०७५ फागुन १९ मा गरेको संशोधन अनुसार न्यूरोडको सडक शहरी सडकमा पर्ने उल्लेख गरेको छ । शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै उच्च अदालतले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको हो । अदालतको यो आदेशसँगै न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन काठमाडौं महानगरपालिकालाई बाटो खुलेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज