सर्वोच्च अदालतले १५ हजार मुद्दा फैसला गरेर रेकर्ड ब्रेक, अझै २५ हजार विचाराधीन अवस्थामा

काठमाडौं । थोरै न्यायाधीशबाट पनि सर्वोच्च अदालतले एकै वर्ष १५ हजार भन्दा बढी मुद्दा फैसला गरेर अहिलेसम्मकै धेरैको किर्तिमान कायम भएको छ । सर्वाेच्चले पछिल्लो एक वर्षमा गरेकाे फैसलाले थोरै न्यायाधीशबाट भएकाे कामले रेकर्ड ब्रेक हुन पुगेको हो

सर्वोच्च अदालतले यो वर्ष करिब साढे १५ हजार मुद्दा फैसला गर्‍यो । लामो समय एक तिहाई न्यायाधीश रिक्तता झेलेको सर्वोच्च अदालतले गरेको यो फैसलाको यो संख्या अहिलेसम्मकै उच्च हो । त्यसो त अझै पनि साढे २५ हजार मुद्दा सर्वोच्चमा विचाराधीन छन् ।

यो वर्ष सर्वोच्च अदालतमा करिव ४१ हजार मुद्दा दर्ता भए । सर्वोच्चमा सोझै दर्ता भएका रिट निवेदन, उच्च अदालतको फैसलामाथि परेका पुनरावेदन, निवेदनरप्रतिवेदनलगायतको संख्या बर्सेनि बढ्दो छ ।

सर्वोच्चका न्यायाधीशहरुले पछिल्लो एक दशकको अवधिमा फैसला गर्ने क्षमता झण्डै तेब्बरले बढाए पनि विचाराधीन मुद्दाको संख्या घट्न सकेको छैन ।

‘यो वर्ष सर्वोच्च अदालतमा करिब ४१ हजार मुद्दा दर्ता भए, भारतजस्तो ठुलो मुलुकको सर्वोच्च अदालतमा करिब ७० हजार मुद्दामात्रै छन् । यो मुद्दा हाम्रा लागि निकै चुनौतीपूर्ण हो,’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘पछिल्ला केही वर्षहरुमा भएको प्रयासले फैसला हुने मुद्दाको संख्या बढेपनि अदालतमा मुद्दाको संख्या घटेको छैन । यो अत्यासलाग्दो अबस्था हो ।’

हालसम्मकै ठुलो संख्यामा मुद्दा फैसला गरेकोबारे जानकारी दिन सर्वोच्च अदालतले सोमबार पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले ठुलो संख्यामा न्यायाधीश रिक्त रहेको र अहिले पनि पूर्ण संख्यामा पदपूर्ति हुन नसकेको अवस्थामा भएको यो फैसलालाई उपलब्धि मान्नु पर्ने बताए ।

‘हामीकहाँ अहिले पनि ४ जना न्यायाधीशको पद रिक्त छ । बेलैमा पदपूर्ति हुन सकेको भए अझै ठुलो संख्यामा मुद्दाहरुको संख्या घटाउन सकिन्थ्यो,’ उनले भने, ‘समयमा पदपूर्ति हुन सके आगामी दिनमा थप मुद्दाहरु फस्यौंट हुने र न्यायग्राहीले समयमै न्याय पाउने आशा गर्न सकिन्छ ।’

मुद्दाहरुको संख्या उल्लेख्य रुपमा बढेपछि सर्वोच्च अदालतले ५ वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै इजलासको व्यवस्था गरेको छ ।

आधा कैद भुक्तान गरिसकेको थुनुवाहरुको मुद्दाका लागि त्यस्तै छुट्टै इजलासको व्यवस्था छ । सर्वोच्चले शुक्रबार समेत अरु दिन झै पूर्णरुपमा इजलास सञ्चालन गरिरहेको छ ।

सर्वोच्च अदालतमा अझै ७ वटा एक दशक नाघेका मुद्दाहरू छन् । त्यस्ता पुराना मुद्दाको संख्या घटाउनका लागि अदालत प्रशासनले प्रयास गरिरहे पनि विभिन्न कारणले समयमा फर्स्यौट हुन सकेको छैन ।

अहिले पनि सर्वोच्च अदालतमा करिब ३२ सय मुद्दा पाँच वर्ष पुराना छन् । यो आर्थिक वर्षको सुरुमा त्यो संख्या करिब ७८०० थियो ।

संवेदनशील मुद्दालाई प्राथमिकतामा राखेर सुनुवाई गर्ने रणनीति लिएका कारण पछिल्लो पाँच वर्षमा थुनुवाहरू रहेका, पुराना भएका मुद्दाहरुको संख्या घटेको सर्वोच्च अदालतको दावी छ । तर, पछिल्ला वर्षहरुमा सर्वोच्च अदालतमा दर्ता हुने मुद्दाको संख्या निरन्तर बढ्दो छ ।

जुनसुकै मुद्दा सर्वोच्च अदालतमा आउने, मौलिक हक उल्लंघन भएमा उपचार खोज्न देशका विभिन्न उच्च अदालत जान सकिनेमा सबै सर्वोच्चमै आउने परिपाटीले सर्वोच्चमा मुद्दाको संख्या बढ्दो छ ।

न्यायाधीशहरूका अनुसार, सर्वोच्च अदालतमा आउने मुद्दाको संख्या कटौतीका लागि उच्च अदालतको क्षेत्राधिकार विस्तार र स्थानीय विवाद निरुपण हुनेगरी जिल्ला अदालत मातहत स्थानीय अदालत गठन गर्नु उपयुक्त विकल्प हो ।

‘जुनसुकै मुद्दा सर्वोच्च अदालतमा ल्याउनैपर्ने मानसिकता बदल्न पनि अदालतको क्षेत्राधिकार विस्तार र स्थानीय तहमा अदालत स्थापनाको विकल्प छैन,’ ती न्यायाधीशले भने, ‘होइन भने बर्सेनि सर्वोच्च अदालतमा मुद्दा थुप्रिने र न्यायको याचना गर्नेहरू अदालत धाउँदा धाउँदै वर्षौं बिताउनुपर्ने जोखिम झनै बढ्छ ।’

पछिल्लो ५ वर्षमध्ये यस आर्थिक वर्षमा सन्तोषजनक प्रगति

 सर्वोच्च अदालतको पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७६/ ०७७ मा कुल मुद्दामध्ये ३० दशमलव ५१ प्रतिशत मुद्दा फर्स्यौट भएको थियो । 

आर्थिक वर्ष २०७/ ०७८ मा १५ दशमलव ८२ प्रतिशत मात्रै मुद्दा फर्स्यौट भएको थियो । त्यतिबेला कोरोना महामारीका कारण कुल ३२ हजार ५३३ थान मुद्दामध्ये ५ हजार ७४८ थान मुद्दा मात्रै फर्स्यौट भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा १९ प्रतिशत मात्रै मुद्दा फर्स्यौट गर्न सकिएको थियो । 

अघिल्लो आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७९/०८० मा ३० दशमलव १७ प्रतिशत मुद्दा फर्स्यौट भएकामा यस आर्थिक वर्षमा भने झन्डै ३८ प्रतिशत मुद्दा फर्स्यौट भएको छ । नयाँ दर्ता हुने मुद्दाको सङ्ख्या समेत बढिरहेको अवस्थामा सर्वोच्च अदालतले यस आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षमा रहेको लागतभन्दा यस आर्थिक वर्षमा कम सङ्ख्यामा झारेको छ । 

यस आर्थिक वर्षमा करिब २ हजार ७ सय थान मुद्दा अघिल्लो आर्थिक वर्षभन्दा कममा झारेको छ । त्यसैगरी १० वर्ष नाघेका र ५ वर्ष नाघेका मुद्दा सुनुवाइमा अभियान नै सञ्चालन गरेको सर्वोच्चले १० वर्ष नाघेका मुद्दा ७ थानमा झारेको बताएको छ । त्यसैगरी ५ वर्ष नाघेका मुद्दामा पनि व्यापक सुनुवाइ भई फर्स्यौट भएको सर्वोच्चले बताएको छ । सर्वोच्च अदालतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस आर्थिक वर्षमा उच्च अदालतहरूले समेत उत्साहजनक प्रगति गरेका छन् । 

देशैभरका उच्च अदालत र मातहत इजलासहरूले कुल ६२ दशमलव ६१ प्रतिशत मुद्दा फर्स्यौट गरेको पाइएको छ । त्यस्तै जिल्ला अदालतहरूले लगतमा रहेका कुल मुद्दामध्ये ५७ दशमलव शून्य ६ प्रतिशत मुद्दा फर्स्यौट गरेका छन् । उच्च र जिल्ला अदालतको प्रगति प्रतिशत हेर्दा सर्वोच्च अदालतको भने कम नै देखिन्छ । यस आर्थिक वर्षमा सबैभन्दा राम्रो फर्स्यौट भने विशेष अदालतले गरेको छ । विशेष अदालतले लगतमा रहेका मुद्दामध्ये ८८ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज