काठमाडौँ । पदीय दुरुपयोगको आरोपमा उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उपसभामुख रानाविरुद्ध भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् ।
उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो । संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो । त्यही कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले ४ पुरुष र एक महिलालाई आफूसँग जान लागेको भन्दै भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई लेटरप्याड प्रयोग गरेर पत्र लेखेकी थिइन् ।
उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै निवेदक बास्कोटाले उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरेका छन्।
समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध परेको उजुरीको सम्बन्धमा सभामुख देवराज घिमिरेलाई समेत जानकारी गराएको बताए ।