काठमाडौं । जनता समाजवादीका सांसद विरेन्द्र महतोले सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिदाँ कर्मचारीलाई ५ हजार रुपैयाँ घुस खुवाउनु परेको भन्दै संसदमा बोलेपछि यसको छानविनका लागि शिक्षा मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।
केन्द्रका सहसचिव वसन्त कोइरालाको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा मन्त्रालयका विद्यालय प्रशासनका उपसचिव रामप्रसाद शर्मा र कानुन शाखाका शाखा अधिकृत पुष्पा वाग्ले रहेका छन् ।
मन्त्रालयका प्रवक्ता केशव दाहालका अनुसार घुस लिएको विषयमा छानबिन गर्न गठित समितिलाई त्यसको बारेमा के भएको हो ? यथार्थ विवरण पत्ता लगाएर प्रतिवेदन पेश गर्न सात दिन समयावधि दिइएको छ ।
सांसद विरेन्द्र महतोले छोराको १० र १२ कक्षाको सर्टिफिकेटको समकक्षता लिन पाँच हजार रुपैंया घुस दिनु परेको आईतबार संसद बैठकमा बोलेका थिए । समकक्षता लिन जाँदा घुस दिनु परेको सांसदको आरोप पछि उक्त शाखमा कार्यरत कर्मचारीलाई सोमबार केन्द्रले जिम्मेवारीबाट समेत हटाएको छ ।