काठमाडौं । हवाई दुर्घटनामा ज्यान गुमाउनेले सवा करोड रुपैयाँभन्दा बढी पाउनेगरी कानून बन्ने भएको छ । बिमा रकम बढाउने विधेयकको खाका तयार भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
आन्तरिक जहाज दुर्घटना हुँदा मृतकका परिवारले २० हजार डलर (अहिलेको सटहीको आधारमा करिब साढे २६ लाख रुपैयाँ )पाउँछन् । यो रकमलाई बढाउन सरकारले ’हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ को खाका तयार पारिसकेको छ ।
यो विधेयकको प्रारम्भिक मस्यौदा तयार पारेर पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा गत फागुनमै दर्ता गराएको थियो ।
मन्त्रिपरिषदले उक्त विधेयकको मस्यौदालाई स्वीकृत गरिसकेको छ । तर, त्यसलाई अन्तिम रुप दिएर संसदबाट पारित गराउन मात्रै बाँकी भएको पर्यटन मन्त्रालयको भनाइ छ । त्यसपछि जहाज दुर्घटना ज्यान गुमाएकाको परिवारले पाउने क्षतिपूर्ति प्रति व्यक्ति नै एक करोड रुपैयाँ भन्दा बढी रकम पाउँछन् ।
यो विधेयक स्वीकृत भएपछि आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउनेको परिवारले पाउने यस्तो क्षतिपूर्ति रकम कम्तिमा १ करोड ३३ लाख रुपैयाँ हुन्छ । उक्त कानुन बनेको अवस्थामा आन्तरिक उडानमा ज्यान गुमाउने यात्रुले हाल पाउँदै आएको बिमा रकम ५ गुणाले बढ्ने पर्यटन मन्त्रालयको भनाइ छ ।
सरकारले आन्तरिक हवाई दुर्घटनामा परेका यात्रुले पाउने क्षतिपूर्ति बढाउन खोजेरै त्यलाई सम्बोधन गर्ने गरी नयाँ ऐन ल्याउन खोजेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अधिकृत मुकेश डंगोलका अनुसार नयाँ कानुन बनाउन खोजिएको भए पनि विभिन्न कारणले ढिलो भने भइरहेको छ । मन्त्रालयले आवश्यक खाका तयार पारेको भए पनि त्यसलाई कानुन मन्त्रालयको राय लिएर फेरि मन्त्रिपरिषद् पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।
‘हाल अन्तर्राष्ट्रिय उडानमा यस्तो बिमा रकम १ लाख ६० हजार डलर छ । सोही अनुसार बनाउन नसकिए पनि कम्तिमा १ लाख डलर बनाउन गरी कानुनको मस्यौदा तयार पारिसकिएको उनको भनाइ छ ।
यो विधेयक तयार पार्न यसअघि २०७७ चैत १२ मै सरकारले सहसचिव लामिछाने नेतृत्वको ९ सदस्यीय कार्यदललाई जिम्मा दिएको थियो । उक्त कार्यदलले तयार पारेको मस्यौदालाई मन्त्रिपरिषदमा पेश गरेको र त्यसैलाई स्वीकृति दिएर अब अन्तिम रुप दिन भनेको थियो ।
‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’को उक्त मस्यौदामा आन्तरिक हवाई उडानमा समेत मन्ट्रियल महासन्धि १९९९ का प्रावधान लागू गर्न खोजिएको हो । यो महासन्धिले हवाई दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको निकटको परिवारले १ लाख डलर क्षर्तिपूर्ति पाउँछन् । यो क्षतिपूर्ति हाल अन्तर्राष्ट्रिय उडानका वायुसेवाको हकमा मात्रै नेपालमा पनि लागू छ ।’
नेपालले सन् २०१८ को अक्टोर १६ मा महासन्धिलाई अनुमोदन गरेर सोही वर्षको डिसेम्बर १५ बाट लागू गरेको हो । यही महासन्धि अनुसार ऐन बनाएर आन्तरिक उडानमा पनि यात्रुले पाउने बिमा दाबी, ब्यागेजको क्षतिपूर्ति, जहाज डिले हुँदा पनि क्षतिपूर्ति दाबी गर्न सक्ने व्यवस्था गर्न खोजिएको पर्यटन मन्त्रालयको भनाइ छ ।