काठमाडौँ । नेपालको संविधान र लोकतान्त्रिक मूल्यमान्यता विपरित उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचन हुन लागेको भन्दै स्वतन्त्र कानुन व्यवसायी मञ्चले निर्वाचन बहिष्कार गरेको छ । मञ्चले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन बहिष्कारको घोषणा गरेको हो ।
विज्ञप्तिमा अवैधानिक रुपमा हुन लागेको निर्वाचनका कुनैपनि कार्यक्रममा सहभागी नहुने उल्लेख गरिएको छ । मञ्चले लोकतन्त्र, विधिको शासन र समावेशिताका सिद्धान्तलाई संस्थागत गर्नका लागि मञ्चका शुभेच्छुक अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायत सम्पूर्ण कानुन व्यवसायी सदस्यहरूलाई निर्वाचन बहिष्कार गर्न अपिल गरेको छ ।
त्यसैगरी मञ्चले नेपालको संविधान र नेपाल बार एशोसिएसन विधान २०४८ ले निर्देश गरेअनुसार आदिवासी जनजाति, महिला , दलित, मधेशी, थारू मुस्लिम, उत्पीडित वर्ग, अल्पसङ्ख्यक, लैंङ्गिक तथा यौनिक, अल्पसङ्ख्यक, सीमान्तकृत, फरक सक्षमता भएकाहरूलाई समावेश गरी समावेशी निर्वाचन गर्न आग्रह गरेको छ । निर्वाचन नामावली प्रकाशन गर्दा वर्णानुक्रम पद्धतिअनुसार गर्नुपर्ने र निर्वाचन दस्तुर महँगो भएकाले पनि यसलाई सच्याउनुपर्ने मञ्चको माग छ ।
उच्च अदालत बार एशोसिएसन पाटनले गत असार ३१ गते सूचना प्रकाशित गरी आगामी भदौ १ गते निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको थियो । उक्त निर्वाचनका लागि अध्यक्ष पदमा अधिवक्ता बिदुर प्रसाद ढुङ्गाना र अधिवक्ता गोपाल श्रेष्ठको नेतृत्वमा अन्य पदका लागि समेत अधिवक्ताहरूले उमेदवारी दर्ता गराएका छन् ।