स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर सहकारी ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् । स्याङ्जाको सदरमुकामस्थित सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको बिरुवा सेवा केन्द्रबाट भएको ३ करोड ६६ लाख रुपैयाँ हिनामिनामा उनको संलग्नता देखिएको भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
कुँवर नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनी ०७६/७७ सालमा सहकारीको सचिव पदमा थिए । उक्त समयमा उनले सहकारीको बचत रकम नेताहरुलाई आफूखुसी चलाउन दिएको र उनी स्वंयमले निर्वाचनमा समेत सहकारीकै बचत रकम खर्च गरेको छानबिनको क्रममा भेटिएको छ ।
सूर्योदय सहकारीको विरुवा सेवा केन्द्रबाट फर्जी कर्जा खाता बनाउने, बचतकर्ताको रकम पनि आफ्नो व्यक्तिगत स्वार्थमा लगाउने गरेको खुलेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । प्रहरीले कुँवर सहित ४ जनालाई पक्राउ पुर्जी जारी गरेकोमा ३ जना थुनामा छन् भने कुँवर फरार छन् ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख शालिग्राम शर्माका अनुसार उनको मोवाइल मंगलबारदेखि अफ छ र उनी सम्पर्कविहीन भएका छन् । कुँवरको खोजी भइरहेको उनले जानकारी दिए ।