कठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ। विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरुलाई सफाइ दिएको हो।
गोदावरीको ढुंगा गिटी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई एक अर्ब ४ करोड ८७ लाख ४५ हजार रूपैयाँ हानिनोक्सानी पुर्याएकोभन्दै दुई महिनाअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। प्रदेश कानुनले तोकेभन्दा कम राजस्व लिने गरी नगरपालिकाले कानुन बनाएर भ्रष्टाचार गरेका अख्तियारको दाबी थियो ।
उक्त मुद्दामा फैसला गर्दै विशेष अदालतले मेयर, उपमेयर, प्रशासकीय अधिकृत लगायतले कानुन अनुसार नै राजस्व उठाएको देखिएको भन्दै अख्तियारको दाबी नपुग्ने उल्लेख गरेको छ ।
विशेष अदालतले फैसलामा घटी दरको कर निर्धारण गरी आरोपित बिगो (एक अर्ब ४ करोड ८७ लाख रूपैयाँ) बमोजिमको रकम भ्रष्टाचार गरेको भन्ने सवालमा गोदावरी नगरपालिकाले राजस्व परामर्श समितिको सिफारिसमा कार्यपालिकाबाट निर्णय गरी नगर सभामा पेस गरेको प्रस्ताव बमोजिम प्रत्येक वर्षको आर्थिक ऐन पारित गरेको देखिएको उल्लेख गरेको छ । फैसलामा भनिएको छ, प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूले आफूखुसी करको दर तोकेको नभइ नगर सभाबाट पारित आर्थिक ऐनले तोकेको कर निर्धारण गरेकोसम्म देखिन आउँछ। प्रतिवादीहरू गजेन्द्र महर्जन, मुना अधिकारी, विश्वराज मरांसेनी, यमलाल बेल्वासे, मदन केसी, सप्तम निर्माण कम्पनी प्रालि, मधुसुदन डोटेल, निराकर ढुंगा उद्योग प्रालि, केदारनाथ तिमल्सिना, मच्छिन्द्रनाथ मल्टिपर्पोज प्रालि, शशिराज शाही, सजिलो ढुंगा उद्योग प्रालि, वीरेन्द्र महर्जन र वीरेन्द्र महर्जन ढुंगा उद्योग प्रालिले सो आरोप दाबीबाट सफाइ पाउने ठहर्छ, विशेषको फैसलामा उल्लेख छ।
नगरपालिकाले कानुन अनुसारको निकासी शुल्क लिनु भ्रष्टाचार निवारण ऐनको दफा ७ (ख) को कसुर नहुने विशेषको फैसलामा उल्लेख गरिएको छ।