काठमाडौँ । काठमाडौँ जिल्ला अदालत बार एशोसिएसनका उपाध्यक्ष अधिवक्ता पुरुषोत्तम अधिकारीले समयमै काठमाडौँ जिल्ला बारको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गराउन आफ्नै कार्यसमिति समक्ष माग गरेका छन् । २ बर्षे कार्यकाल समाप्त हुनै लागिसक्दा पनि निर्वाचनको मिति घोषणा नगरिएको भन्दै उपाध्यक्ष अधिकारीले नेतृत्वको ध्यानाकर्षण गराएका हुन ।
उपाध्यक्ष अधिकारीले काठमाडौँ जिल्ला अदालत बार एशोसिएसनको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल समाप्त भएपश्चात् नयाँ नेतृत्व चयनका लागि समयमै निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा म स्वयम् यसअघि पनि थिएँ र यद्यपि छु भन्दै नेबाएको विधानले पनि युनिट बार कार्यसमितिको कार्यकाल २ वर्ष हुने भनी व्यवस्था गरेको उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, काजिअ बारको वर्तमान नेतृत्व र सोही नेतृत्वमा रहेका हामी सिङ्गो कार्यसमितिले निर्वाचनका बेला आफ्नो कार्यसमितिको कार्यकाल समाप्तिपश्चात् समयमै निर्वाचन गराउने प्रतिबद्धता हामीले चुनावी घोषणापत्रमा समेत उल्लेख गरेका थियौँ । वर्तमान कार्यसमितिको उपाध्यक्षको हैसियतमा कार्यसमितिका सबै पदाधिकारी एवं सदस्यमाझ निर्वाचन समयमै गर्नुपर्छ र निर्वाचनको मिति तय गरौँ भनी यसअघि पनि पटकपटक अनुरोध गरिसकेको छु ।
उपाध्यक्ष अधिकारीले सबैभन्दा पहिला निर्वाचनको मिति तय हुनु जरुरी रहेको उल्लेख गर्दै काबुबाहिरको परिस्थिति परी चुनाव घोषणा हुन नसक्ने तथा चुनाव गर्न नसकिने अवस्था परेमा बाहेक जुनसुकै कार्यसमितिको कार्यकाल समाप्तिपश्चात् समयमै निर्वाचन गर्नु जरुरी हुने उल्लेख गरेका छन् । उनले भनेका छन्, यसो गर्दा कानूनी तथा संस्थागत सुशासनको अभ्यास हुने, पछिको नेतृत्वलाई समयमै निर्वाचन गर्न दबाब परी राम्रो नजिर बस्ने तथा नयाँ नेतृत्वले समयमै अवसर पाउने हुँदा निर्वाचनको मिति तय गरी नयाँ नेतृत्वको निर्वाचन गर्नका लागि सकारात्मक पहल गरिदिनुहुनका लागि म मेरो आफ्नै कार्यसमिति समक्ष हार्दिक अनुरोध गर्दछु ।
उपाध्यक्ष अधिकारीले काठमाडौँ जिल्ला अदालत बार एशोसिएसनमा आबद्ध कानून व्यवसायी एवं आम मतदाताहरू समेत वर्तमान कार्यसमितिको कार्यकाल समाप्तिपश्चात् नयाँ कार्यसमितिको निर्वाचन तत्काल हुनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गरेका छन् ।
त्यसैगरी अन्य अधिवक्ताहरूले समेत काजिअ बारको निर्वाचन समयमै गराउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । अधिवक्ता दिपकराज जोशीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, काजिअ बारको सदस्य भएको नाताले मेरो एउटा जिज्ञासा छ । २ वर्ष भित्र चुनाव गराउने भनेर अध्यक्षज्यूले भन्नु भएको थियो । तर अहिले २ वर्ष सकियो । अब अध्यक्षज्यूले नेपाल बारको चुनाव नहुन्जेल गर्दिन भनेर भनेको पनि सुनियो । उनी अगाडि लेख्छन्, यो सत्य हो वा होइन थाहा भएन । यो कस्तो बाध्यता आइपर्छ कि कुनैपनि अध्यक्ष समयमा चुनाव गराउन तयार हुँदैन ? यसमा नेपाल बारको धारणा के छ ? कि धर्नै बस्न पर्ने हो ?
त्यस्तै अर्का अधिवक्ता कृष्ण खनालले काठमाडौँ जिल्ला बारको नेतृत्वले आफ्नो कार्यकाल सकिदाँ पनि चुनावको मिति घोषणा गर्न नसक्नुको कारण के हो भन्दै प्रश्न गरेका छन् । उनले अगाडि लेखेका छन्, आम जिल्ला बारका मतदातालाई प्रष्ट पार्नु पर्यो । कि हिजो चुनावमा होमिदा घोषणा गरेको घोषणापत्र र भाषणका भाष्यहरु बागमतीमा बगे भन्नु पर्यो । यदि त्यसो हो भने यस कारण अब सृजना हुने सबै परिस्थितिको जिम्मा लिन तयार हुनु पर्यो ।
अधिवक्ता खनालले नत्र समयमै चुनावको मिति तय नगर्नुका कारणहरू के हुन ? कसले, के कारण र परिस्थिति सृजना गरेर बिलम्ब भयो ? बाधक को हो ? भनेर प्रश्न गरेका छन् । उनले यसले भोलि सृजनाहुने परिणामको जिम्मेवार को हुने ? कृपया यी प्रश्नको पदिय हिसाबले जवाफ आओस न कि व्यक्तिगत हिसाबले भन्दै तपाईंहरुलाई जस्तै हामी सबैलाई हाम्रो बार चिन्ता छ भनेर फेसबुकमा लेखेका छन् ।