क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

लमजुङ । लमजुङ स्थित कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा स्वस्थ खाना, पिउने पानीलगायत समस्या हुन थालेको छ । ३५ कैदीकन्दी अट्ने गरी विसं २०२८ मा बेँसीसहर नगरपालिका–८ शेरामा निर्माण गरिएको जिल्ला कारागार लमजुङमा हाल एक सय १३ कैदीबन्दी छन् ।
मापदण्डअनुसार यहाँको कारागारको संरचना निर्माण भएको छैन । एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफल हुनुपर्ने कानुनी प्रावधान छ । पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा बस्दा जीर्ण भवन भत्किएर ज्यान जाने त्रास रहेको कैदीबन्दी बताउँछन् । साथै गर्मी, उडुस र लामखुट्टेको टोकाइलगायत समस्या हुने गरेको उनीहरु बताउँछन् ।
कारागारका चौकीदार खुसीराम मगरातीले पुरानो जीर्ण बन्दै गएको भवनमा राति मुसा दौडिँदा पनि भवन भत्किन लाग्यो भनेर डराउनुपर्ने अवस्था आएको बताउनुभयो । “यतिबेला गर्मीको समय छ, धेरै कैदीबन्दी हुँदा सुत्न, बस्नलाई समस्या भइरहेको छ । स्वस्थ खाना र पिउने पानीको अभाव, उडुस र लामखुट्टेको टोकाइ, भुइँमा एकैठाउँमा सुदा राम्रोसँग फर्किन पनि नमिल्ने समस्या छ”, उहाँले भन्नुभयो ।
गर्मीका साथै उडुसको टोकाइले राति निदाउन नसकिने चौकीदार मगरातीले गुनासो गर्नुभयो । “निदाएको बेलामा उडुसले टोकेको थाहा हुँदैन, ब्युझिदा शरीरभरि एलर्जी हुन्छ । एलर्जीको औषधि लगाउँदै बस्दै गर्नुपर्दछ”, उहाँले भन्नुभयो । खाना खाने ठाउँ खुला रहेको बताउँदै खाना खाँदाखाँदै पानी परे भिजेर खानुपर्ने खवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।
कारागारका नाइके शम्भुलाल श्रेष्ठले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बस्न, खानका साथै स्वास्थ्यमा समस्या हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ उडुस र लामखुट्टे छन् । गर्मीमा बिजुली बत्ती र पर्याप्त पङ्खा नहुँदा गर्मीले बस्न, सुत्न सकिदैन, ठाउँको पनि अभाव छ”, उहाँले भन्नुभयो ।
कैदी विष्णु गिरी थापाले जीर्ण भवन र पर्याप्त संरचना नहुँदा पानी परेको बेलामा रुझ्दै खाना खानु परिरहेको बताउनुभयो । “गर्मीले उकुसमुकुस बनाउँछ, उडुस र लामखुट्टेले टोक्छन् । कानुनी सजायभन्दा बढी सास्ती यो सजायबाट भइको छ”, उहाँले भन्नुभयो । मापदण्डअनुसार आधुनिक संरचना निर्माण गरी कैदीबन्दीको जीवन सहज बनाउन उहाँले सरोकार भएकासँग आग्रह गर्नुभयो ।
“राति जसोतसो बसेर रात कटाउने गर्छौँ, दिउँसोभित्र बस्दा गर्मी, बाहिर निस्किदा घामले पोल्ने समस्या छ । यसरी दिनरात कटाउँदा स्वास्थ्यमा समस्या आउने चिन्ता लाग्न थालेको छ”, कैदीबन्दी थापाले भन्नुभयो । यहाँ भूकम्प गएमा सबै कैदीबन्दी अट्ने खुला ठाउँ नभएको भन्दै भवन र पर्खाल भत्किएर ज्यान जाने त्रासमा सबै बस्ने गरेका उहाँले बताउनुभयो ।
सुरक्षाकर्मीले बस्ने पोष्ट पनि जीर्ण अवस्थामा भएकाले सुरक्षाकर्मीलाई जोखिम रहेको कारागारका निमित्त जेलर सुमिता मरासिनीले बताउनुभयो । कारागारको कार्यालयबाट कैदीबन्दी बसोबास गर्ने संरचना चार रोपनी क्षेत्रफलमा फैलिएको कारागार कार्यालयले जनाएको छ ।
कारागारका निमित्त जेलर मरासिनीले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा स्वाभाविक रुपमा विभिन्न समस्या हुने गरेको बताउनुभयो । “कारागार भवन धेरै पुरानो हो, विसंं २०७२ मा गएको भूकम्पले कारागाारको पर्खाल भत्किएको थियो, अहिले पनि उक्त पर्खाल जीर्ण हुँदा जोखिम उत्तिकै छ”, उहाँले भन्नुभयो ।
कैदीबन्दीलाई उडुस र लामखुट्टे मार्ने औषधि दिने गरिएको बताउँदै जेलर मरासिनीले उडुस र लामखुट्टे नियन्त्रणको प्रयास गरे पनि नियन्त्रण हुन नसकेको बताउनुभयो । “यसको मुख्य कारण पुरानो कारागार, क्षमताभन्दा बढी कैदीबन्दी, गर्मी र उकुसमुकुसले भएको चिकित्सक बताउँछन्”, उहाँले भन्नुभयो ।
निमित्त जेलर मरासिनीले १० महिला र २५ पुरुष गरी ३५ जनाको क्षमता रहेको कारागारमा केही समयअघि २० जना अट्ने एउटा कोठा निर्माण गरिएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न समस्या भइरहेको बताउनुभयो । “हामीले सम्बन्धित निकायलाई यहाँको समस्याका बारेमा जानकारी गराएर समाधानको पहल गरिदन आग्रह गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
कारागारमा अहिले पाँच महिला र एक सय आठ पुरुष कैदीबन्दी छन् । तीमध्ये ६१ जना कैदी र ५२ जना थुनुवा रहेका निमित्त जेलर मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार एक थुनुवा र चार कैदी गरी पाँच महिला, ५७ कैदी र ५१ थुनुवा गरी एक सय आठ पुरुष रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज