काठमाडौँ । नेपाल कानून व्यवसायी परिषदले वाणिज्य कानून विषयको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । नेपाल कानून व्यवसायी परिषद् र लयर्स एकेडेमी समितिको आयोजनामा आगामी भदौ २५ देखि वाणिज्य कानून विषयको आधारभूत तालिम सञ्चालन गर्न लागिएको परिषदले जनाएको छ । परिषद्ले उक्त तालिम लिन इच्छुक १० वर्ष मुनिका अधिवक्ताहरूले तोकिएको दस्तुर सहित ७ दिन भित्र परिषद्मा नाम दर्ता गराउन सूचना जारी गरेको छ ।
तालिममा सहभागि हुनका लागि कानूनमा स्नातकतह उत्तीर्ण गरी अधिवक्ता भई नेपाल बार एशोसिएसनको सदस्यता लिई परिषद्मा अद्यावधिक रही १० वर्षभन्दा मुनि निरन्तर रुपमा कानून व्यवसायमा संलग्न रहेको हुनु पर्ने, तालिममा ४० जनाको सङ्ख्या रहने भएकोले नाम दर्ताको प्राथमिकताको आधारमा सहभागी गरिने उल्लेख गरिएको छ । तालिमका लागि २ हजार रुपैयाँ शुल्क लाग्ने उल्लेख गरिएको छ ।