काठमाडौं । ‘विगतका तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यक्रम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन सूचना जारी गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गरेर यस्तो आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बिहीबार सूचना जारी गर्दै सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ को ख्याल गर्न भनेको छ । सूचनामा भनिएको छ, कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको आयोजना गरे र गराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइएको छ।
पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु सबैको कर्तव्य भएको भन्दै सूचना विपरीत हुने कार्यक्रम भएमा सामाजिक व्यवहार सुधार ऐनअनुसारकारबाही गर्ने प्रशासनले जनाएको छ ।