काठमाडौं। संसदीय सुनुवाइ समितिमा बुधबार साउदी अरबका लागि प्रस्तावित राजदूत डा नरेशविक्रम ढकालले गलत तथ्यांक प्रस्तुत गरेका छन् ।
उनले संसदीय सुनुवाई समितिमा गलत तथ्यांक प्रस्तुत गरेको विषयमा सांसदहरुले प्रश्न उठाएपछि ढकाल अक्क न बक्क परे । उनले कतारमा हरको श्रमिकको संख्या बढाएको विषयमा भने अनोपचारिक र औपचारिक भनेर पन्छने प्रयास गरेपनि अरु तथ्यको बारेमा भने जवाफ दिन सकेनन् ।
प्रस्तावित राजदूत ढकालले आफ्ना कार्ययोजना प्रस्तुत गर्दा गलत विवरण राखेपछि सांसदहरूले उनीमाथी प्रश्नमाथि प्रश्न तेर्साए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रस्तावित राजदूत ढकालले प्रस्तुत गरेको कार्ययोजनामा विभिन्न खालका त्रुटि औँल्याए । ढकालले नेपालमा हुँदै नभएको मन्त्रालयको नामसमेत कार्ययोजनामा समावेश गरेका थिए । उनले श्रम रोजगार तथा समाज कल्याण मन्त्रालयको नाम उल्लेख गरेका थिए ।
कार्ययोजनामा नेपालमा हुँदै नभएको मन्त्रालयको नाम राखेको भन्दै सांसद अर्यालले भने, ‘तपाईंले आफ्नो कार्ययोजनाको १० नम्बरमा श्रम रोजगार तथा समाजकल्याण मन्त्रालयको नाम लेख्नुभएको छ । यस्तो मन्त्रालय कहाँ छ ? तपाईं आफैँले नै लेखेको कार्ययोजना हो भने यो मन्त्रालय कहाँ छ, देखाइदिनु होला ।’
यस्तै ढकालले साउदी अरबमा रहेका नेपाली श्रमिकको तथ्याङ्क पनि २ थरी उल्लेख गरेका थिए । कतै ३ लाख हाराहारी र कतै ४ लाख हाराहारी रहेको उल्लेख गरेपछि सांसद डोलप्रसाद अर्यालले राजदूत भएर जाने व्यक्तिले कति श्रमिक सङ्ख्या छ, त्यो पनि फरक–फरक केरमेट विवरण प्रस्तुत गरेकाले सो कार्ययोजना आफैँले बनाएको त हो ? भन्दै प्रश्न गरे ।
यसअघि कतारका राजदूत रहेका ढकाललाई सांसद अर्यालले गम्भीर खालका प्रश्न उठाए । नेपालमा १ सय पर्ने पुलिस रिपोर्टलाई कतारमा रहँदा पुलिस रिपोर्टको ६७ सय लिने गरेको श्रमिकको गुनासो रहेको, राहदानी नवीकरण गर्दा पनि नेपालमा भन्दा बढी रकम लिने गरेको, अनलाइन सिस्टमबाट नलिएर क्यास नै लिने गरेकाले उनको कार्यशैली शङ्कास्पद रहेको अर्यालले बताए ।
कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कार्ययोजनामा विभिन्न खालका त्रुटि भएकाले सो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले भने– तपाईंले कूटनीतिक क्षेत्रमा काम गर्दा ‘एस’ भन्नुपर्ने ठाउँमा ‘नो’ र ‘नो’ भन्नुपर्ने ठाउँमा ‘एस’ भन्नुभयो भने नेपाललाई गम्भीर असर पर्न सक्छ ।
राजदूतजस्तो मान्छेले डाटा प्रस्तुत गर्दा एकचोटी होइन, पाँच चोटी भेरिफाइ गर्नुपर्ने कार्कीले बताए ।
सांसद कार्कीले साउदी अरबबाट पर्यटक नेपाल आउन तयार छैनन् भन्ने ढकालको विवरणलाई कसरी यकिन गर्ने भन्दै प्रश्न गरे ।
माओवादी केन्द्रका सांसद जनार्दन शर्माले ढकालको कार्यजनामा श्रमिक बीमाको कुरा नभएको उल्लेख गर्दै कार्ययोजनामा श्रमिकलाई बीमाको व्यवस्था कसरी गर्न सकिन्छ, सो पनि उल्लेख गरेर काम गर्न आग्रह गरे । ओमनमा घरेलु कामदारका रूपमा गएका महिलाहरू यौन शोषणमा परेको र बच्चासमेत जन्माएर दूतावासको शरणमा पुग्ने गरेका धेरै घटना रहेकाले त्यसमा ध्यान दिन उनले आग्रह गरे ।
कतारमा राजदूत रहेका बेला नेपालीहरू बीचसमन्वय नगरेको देखिएकाले सबैलाई समन्वय गर्न शर्माले आग्रह गरे ।
प्रस्तावित राजदूत ढकालले कतारले नेपालमा कुन क्षेत्रमा लगानी गर्न सक्छ र हाम्रो आवश्यकता के हो भन्ने पत्ता लगाएपछि नेपाल सरकारका निकायहरूसँग समन्वय गरेर अघि बढ्ने उल्लेख गरे । आफूले साउदी अरबमा रहेका नेपाली श्रमिकहरूको तथ्याङ्क साउदी अरबस्थित दूतावासबाट उपलब्ध भएको दाबी गरे । कतिपय अवैध तरिकाले पनि नेपाली श्रमिक त्यहाँ रहेको हुनाले दुईथरी डाटा रहेको उनको भनाइ थियो ।
ढकालले आफू कतारमा रहँदा दोहामा दूतावासको बैंक खाता रहेको तर बैंक खातामा राजस्व जम्मा गर्दा बढी मात्रामा कर काटिने र नेपाललाई नोक्सानी हुने भएकाले क्यासमै राजस्व लिएको दाबी गरे । उनले आफू साउदी अरबको लागि राजदूत भएमा जनशक्तिहरू मूल्याङ्कन गरी उनीहरूलाई आवश्यक तालिम, सिप प्रदान गरी सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने दाबी गरे ।
प्रस्तावित राजदूत ढकालले साउदी अरबबाट धेरै पर्यटक ल्याउनका लागि आफूले पहल गर्ने बताए । उनले भने, ‘साउदी अरबबाट धेरै पर्यटक आएको देखिँदैन । नेपालको पर्यटकीय दृश्यहरू विभिन्न कार्यक्रममा प्रचारप्रसार गर्ने, पर्यटन बोर्डसँग सहकार्य गरेर नेपालको पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गर्न प्रयत्न गर्नेछु ।’