काठमाडौं । नेपाल सरकारले राखेका सबै शर्तहरु टिकटकले पूरा गरेर नै टिकटक खोल्ने निर्णय भएकाे हुँदा यसले सरकारलाई राजस्व बढ्ने र यसले अरु सामाजिक सञ्जाल पनि व्यवस्थित हुने सञ्चार मन्नत्रालयको भनाई छ । सरकारले टिकटक खोल्दा राखेकाे शर्तले एकातिर सरकारलाइ टिकटकबाट मात्रै बार्षिक ३ अर्बभन्दा बढी राजस्व बढ्ने र अर्कोतर्फ टिकटकले स्वीकार गरेकाे शर्त अरु सामाजिक सञ्जालले पनि मान्नुपर्ने भएको मन्त्रालयले जानकारी दिएको छ ।
अरु सामाजिक सञ्जालको हकमा पनि टिकटकमाथिका सबै शर्त लागू हुने भएकाे छ। टिकटकलगायत विभिन्न सामाजिक सञ्जाललाई व्यवस्थितगरी सञ्चालन गर्न सकिएमा हजारौँ युवाले रोजगारी पाउने र राज्यलाई पनि करोडौँ राजस्व प्राप्त हुने पनि सञ्चार मन्त्रालयकाे भनाइ छ ।
सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले भने, ‘सामाजिक सद्भाव खल्बलाएको भन्दै एउटा घटनाले गर्दा अघिल्ल्लो सरकारले टिकटक बन्द गत वर्षकाे कात्तिकदेखि नै भएकाे रहेछ । बन्द गरेकै दिनदेखि टिकटक सञ्चालन गर्ने कम्पनीबाट खोल्नुपर्छ भन्दै थुप्रै निवेदन आएका रहेछन् । ती निवदेन यत्तिकै थाती राखिएको थियो । म मन्त्री भएर आएपछि त्यसलाई बुझ्ने प्रयास गरे भने तोकिएको शर्त पालना पछि मात्रै टिकटक खोल्ने निर्णय भएको हो ।’ यसका शर्तसँगै सबै सामाजिक सञ्चाल व्यवस्थित हुने दाब सञ्चार मन्त्री गुरुङको छ ।
उनले भने ‘फेसबुक, इन्स्ट्राग्राम, टिकटकलगायत थुप्रै सामाजिक सञ्जालबाट हजारौँको सङ्ख्यामा युवाले रोजगार पाएका छन् । टिकटक बन्द हुँदा अलिकति भने पनि प्राप्त गरिरहेको अर्थोपार्जन खोसिँदै गएपछि युवामा निराशा आउनु स्वाभाविकै हो । मैले यसमा के रहेछ भनेर दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्षलाई सोध्दा टिकटक चलायो भने राज्यलाई करिब तीन अर्ब रुपैयाँ राजस्व बढ्छ, भन्नुभयो।’
मन्त्री गुरुङले थपे ‘पहिले नै सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी निर्देशिका बनेको रहेछ । त्यो निर्देशिकाको दफा ३ मा टिकटक प्रयोगकर्ता वा संस्था दर्ता हुनुपर्छ भन्ने रहेछ ।’ दर्ता गरेपछि निर्देशिकाको दफा ६ मा उल्लेख भएअनुसार ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्छ । यी दुई शर्त पूरा भएपछि टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय भएको मन्त्री गुरुङले बताए ।
‘टिकटक सञ्चालक कम्पनीका प्रतिनिधीलाई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नु भनेर प्रस्ताव गरेकाे र यसलाई स्वीकार गरेपछि टिकटक खोलिएको हो । मन्त्री गुरुङले भने, हाम्रा यी सबै प्रस्तावमा टिकटक सकारात्मकर सबै शर्त मान्न मन्जुर भएपछि खोलिएको हो ‘
उसले सरकारसमक्ष आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सामाजिक दूरभावना फैलाउने खालका ‘कन्टेन’भित्र रहेका शब्द, वाक्यहरुको अङ्ग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेशन’ र ‘मोडरेशन’ गर्ने भएको छ ।