पर्यटनका महत्वपूर्ण तीनवटा कानून संशोधन हुँदै, हवाई क्षेत्रको विकास गर्न नयाँ ऐनको तयारी

काठमाडौं। पर्यटनका महत्वपूर्ण तीनवटा कानून संशोधन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन नीतिमा समसामयिक परिवर्तन गर्न लागेकोले एकैपटक तीन वटा नीतिसहित हवाई क्षेत्रको विकास गर्न नयाँ ऐनको तयारी भएको बताएका छन् ।

संस्कृति नीति, पर्यटन नीति, र हवाई सम्बन्धी नीतिमा सामयिक परिवर्तन गर्ने कुरालाई जोड दिएर आफूले छलफललाई अघि बढाएको उनको भनाई थियो । मंगलवार नेपाल पर्वतारोहण संघले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी पर्वतारोहण क्षेत्रलाई गतिशील बनाउन पनि आफू लागि परेको जिकिर गरे ।

मन्त्री पाण्डेले आगामी हिउँदे अधिवेशनमा पर्यटन क्षेत्रले कानुनी राज्यलाई स्थापित गराउने गरी कानुन निर्माणको कामलाई अघि बढाउने योजना पनि सुनाए ।

मन्त्री पाण्डेले उड्डयनको क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक निकाय छुट्टाछुट्टै बनाउने गरी कानुन निर्माणको कामलाई अघि बढाएको पनि बताए ।

हवाई क्षेत्रको विकासका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय बनाउन आवश्यक विधेयक पर्यटन मन्त्रालयले मन्त्रीपरिषदमा पेश गरिसकेको छ ।

अब उक्त विधेयकलाई सरकारले संसदमा लैजाने छ । संसदले दफावार छलफल गरेर विधेयक पारित गर्नुपर्छ । त्यसपछि संसदले स्वीकृत गरेको उक्त विधेयकलाई राष्टपतिले लालमोहर लगाएपछि ऐनको रुपमा आउने छ  ।

उक्त ऐन आएको ३ महिनामा नेपालका हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण सेवाप्रदायक र नियामक गरेर दुईवटा संस्थामा विभाजन हुने छ । एउटा संस्थाले नियामकीय भूमिका निर्वाह गर्नुपर्छ भने अर्कोले सेवाप्रदानसँगै व्यापारसमेत गर्ने छ ।

हाल उड्डयन प्राधिकरण नयाँ विधेयक नल्याउन र सकेसम्म राेक्ने प्रयासमा रहेकाेले यसालाई अघि बढाउन ढिलाइ भइरहेको थियो । पछिल्लो समय संसदीय समितिमा भएकाे चर्को वहस र संसदीय समितिकाे निर्देशनका कारण पनि नयाँ विधेयक ल्याउनैपर्ने दबाबमा सरकार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज