प्रस्तावित प्रधानन्यायाधीश राउतविरूद्ध सुनुवाइ समितिमा ६ वटा उजुरी, कार्य क्षमतामा प्रश्नदेखि झगडियासम्मको आरोप

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका न्यायाधीश प्रकाशमान सिंह राउतविरूद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेको छ।

समितिले राउतविरूद्ध १० दिनको समय दिएर उजुरी मागेको थियो। राउतविरूद्ध उजुरी गरेकामध्ये एक उजुरीकर्ताले राउतसँग कार्यक्षमता अभाव भएको र प्रमाण मूल्याङ्कन गर्ने क्षमता नै नभएको आरोप लगाएका छन्।

बाजुराका गगन ऐडीले न्यायाधीश राउतले पक्षपातपूर्ण व्यवहार गरेको उजुरी दिएका छन्। न्यायाधीश प्रकाशमान सिंह राउत सम्मिलित इजलासबाट छोरा चेतनदास ऐडीको हत्यामा संलग्न भएकाहरूलाई साधारण तारेखमा छाडिएको उनले उल्लेख गरेका छन्।

‘घटनामा संलग्न रहेकाहरूले नै एकले अर्काविरूद्ध बयान दिएको भए पनि कांग्रेस पृष्ठभूमि भएका न्यायाधीशहरू प्रकाशमान सिंह राउत र अब्दुल अजिज मुसलमानले पार्टीका वकिल र कार्यकर्ताको भनाइबाट उद्देलित भएर धरौटी समेत नमागी साधारण तारेखमा छाड्ने आदेश गरेका कारण गाउँघरमा बस्न नसक्ने अवस्था भयो,उजुरीमा भनिएको छ, न्यायाधीशसँग प्रमाणको मूल्याङ्कन गर्ने सक्ने कार्यक्षमताको अभाव रहेको देखियो।’

अन्य दुई उजुरीकर्ताले भने प्रधान्यायाधीश राउतविरूद्ध व्यक्तिगतभन्दा पनि अदालत सुधारको मागबारे उनको धारणा मागेका छन्।

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश भएपछि न्यायपालिकामा भैरहेका भ्रष्टाचारजन्य कार्यहरू समाधान हुन्छन् र जनताले सहज र प्रभावकारी न्याय सेवा पाउँछन् भन्ने ग्यारेण्टी नभएको, उजुरीकर्ताले लेखेका छन्।

उजुरीकर्ताले गुनासो भनेका छन्, अदालतका कर्मचारीले फाइल भेटिएन भन्छन्, फाइल भेट्ने गरी राख्ने काम सेवाग्राहीको होइन, अदालतका सम्बन्धित कर्मचारीहरूको हो। मुद्दा दर्ता गर्न तारिख र सामान्य प्रतिलिपी लिन घण्टौं कुर्नुपर्ने अवस्था छ।

अर्का एक उजुरीकर्ताले भने ‘श्रीमतीसँग विवादित झगडिया व्यक्ति प्रधान्यायाधीश हुन लागेको आरोप लगाएका छन्।श्रीमतीसँग विवादित झगडिया तपाईं प्रधानन्याधीश हुँदै हुनुहुन्छ, बधाई छ, ती उजुरीकर्ताले उजुरीमा लेखेका छन्, हाइड्रो पावरमा लगानी गर्ने, सांग्रिलामा पौडी खेल्ने र गोपालको डाँडामा रेष्टुरेण्टमा रासमोज गर्ने, बालुवाटारको जग्गा खाने, सालोलाई दलाली गराउने र अपार्टमेन्टमा लगानी गर्ने माननीय न्यायाधीश उपर छानबिन हुन्छ कि हुँदैन ?’

उजुरीकर्ताले नेपाली सेना विरूद्धको मुद्दामा किन सर्वोच्च अदालतले फैसला नगरी सदैव स्‍थगित गर्ने गरेको हो ? भन्दै प्रश्न उठाएका छन्।

राउतविरूद्ध चितवनकी शुभलक्ष्मी थपलियाले आफ्नो संवैधानिक हक नै मासेर उठिबास लाग्ने गरी त्रुटिपूर्ण फैसला दिएको आरोप लगाएकी छन्।

उनले राजमार्गमा परेका कारण आफ्नो ११ आना जग्गा गुमेको र बाँकी रहेको ३ आना जग्गाबारे अदालतले गरेको फैसलाले उठिबास लगाएको आरोप लगाएकी छन्।

उनले समितिमा दिएको उजुरिमा लेखिएको छ, ‘२०८० साल चैत १५ गते चितवन हाजीपुरमा ११ आना जग्गा राजमार्गमा परेको र ३ आना जग्गा जग्गाको सवालमा उठिबास लाग्ने गरी त्रुटिपूर्ण फैसला भएको छ।’

उनले वर्षाका कारण बाटो बन्द भएकाले आफू समितिमा आएर उजुरी दिन नपाएको भन्दै छोरीमार्फत् उजुरी समितिमा दिएकी छन्। राउतविरूद्ध नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले अमेरिकाबाट उजुरी दिएका छन्।

उनले सैनिक ऐनको व्याख्याका सम्बन्धमा प्रश्न उठाएका छन्। साथै उक्त व्याख्याबारे सांसदहरूसँग विस्तृत छानबिन र प्रश्नोत्तर माग गरेका छन्। प्रस्तावित प्रधानन्यायाधीश राउतविरूद्ध संसदीय सुनुवाइ समितिले बुधबार सुनुवाइको तयारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज