पोखरा । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा पक्राउ परेका नेपाली सहकारीका संस्थापक अध्यक्ष हुन् ।
मंगलबार न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
नेपालीले बागलुङ जिल्लामा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको अभियोग दायर भएको छ भने कास्कीमा शाखा रहेको सहकारीमा उनले ६० करोड रुपैयाँ अपचलन गरेको अभियोग छ । बचतकर्ताको करिब २ अर्ब रुपैयाँ ठगी गरेको अभियोगपछि नेपाली १६ महिनादेखि फरार थिए । गत असोज ११ गते भारतको नयाँ दिल्लीबाट पक्राउ परेका नेपालीलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएर सोमबार अदालतमा उपस्थित गराइएको हो । सोमबार उनीसँग बयान लिइएको थियो । मंगलबार थुनछेक बहससँगै अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।