काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना दर्ता भएको छ। घिमिरेले अदालतको अवहेलना गरेकोले उनीमाथि कारबाहीको माग गर्दै सर्वोच्च प्रशासनले तयार पारेको प्रतिवेदन दर्ता भएको हो ।
नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीशका विरुद्ध अभिव्यक्ति दिएका थिए । नेपाल बारका अध्यक्षले सार्वजनिक रूपमा गरेका टिप्पणीले प्रधानन्यायाधीश, अदालतको अवहेलना भएकाले कारबाही गर्नुपर्ने भन्दै उपरजिष्ट्रार गोविन्द घिमिरेले उनलाई अवहेलनामा कारबाही गर्नुपर्ने प्रतिवेदन तयार पारेका थिए।
नेपाल बारले अहिले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा वरियतामा मुख्य न्यायाधीशभन्दा मुनि र अरू न्यायाधीशभन्दा माथिको रोलक्रम दिने गरी बनाइएको नियमावली खारेज गर्न माग गर्दै विरोध कार्यक्रम गर्दै आएको छ। उक्त नियमावली नसच्याई कुनै पनि अदालतमा न्यायाधीश नियुक्ति गर्न नपाइने बारको माग छ। बारको विरोधकै बीचमा असोज ११ गते सर्वोच्चमा दुई न्यायाधीश नियुक्ति सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले त्यसमाथि प्रश्न उठाएका छन्।
नियमावलीको उक्त व्यवस्था गैरसंवैधानिक भएको भन्दै उनले प्रधानन्यायाधीशलाई पनि गैरसंवैधानिक काम गरेको आरोप लगाएर विभिन्न सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका थिए। उक्त मुद्दा २०८१ साल कार्तिक १ गते सुनुवाईकालागि पेशी तोकिएको छ ।