काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले सिनामंगलमा १२ तले भवन बनाउँदा भ्रष्टाचार गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । उड्डयन प्राधिकरणले सिनामंगलमा १२ तले भवन निर्माण गर्दा भ्रष्टाचार भएको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । भवन निर्माणसम्बन्धी कागजात नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान सुरु गरेको हो । बुधबार अख्तियारबाट इन्जिनियरसहितको टोली भवन रहेको स्थलमा पुगेर प्राविधिक नापजाँचसमेत लिएको छ ।
२ अर्बभन्दा बढी रकम लागत देखाइएको भवन निर्माणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणका अधिकारीहरूको मिलेमतोमा अनियमितता भएको उजुरी अख्तियारमा परेको थियो । त्यसपछि प्रारम्भिक छानबिन गर्दा कैफियत देखिएपछि भवन निर्माणसम्बन्धी फाइल नियन्त्रणमा लिएर अख्तियारले विस्तृत अनुसन्धानमा लगेको हो ।
२०७२ वैशाखदेखि निर्माण थालेर २०८० वैशाखमा काम सम्पन्न गरेकोमा यो अवधिमा निर्माणमा भएको खर्च, निर्माणमा गुणस्तरदेखि ठेक्का लगाउँदासम्मका प्रक्रियामा बदनियतपूर्ण रूपमा काम गरेको देखिएपछि अनुसन्धान अघि बढेको हो । अहिले उक्त भवनको एकातर्फको केही भाग लच्किएको जस्तो देखिएको प्राधिकरणकै कर्मचारीले बताएका छन् ।
प्राधिकरणका उच्च अधिकारी आफ्ना कमजोरी ढाकछोप गर्न लागे पनि अख्तियारमा उजुरी परेपछि अनुसन्धान अघि बढेको छ । भवनको स्वरूप पनि सुरुको डिजाइनअनुसार नदेखिएको अनुसन्धान स्रोतको भनाइ छ । २०७१ मा भवन निर्माणका लागि प्राधिकरणका प्रक्रिया अघि बढाएकोमा २०७२ वैशाखबाट निर्माणको काम अघि बढाइएको थियो । ‘एयरपोर्ट एन्ड एयर नेभेगिसन सर्भिसेस अर्गनाइजेसन नाम दिइएको यो भवनको शिलान्यास तत्कालीन महानिर्देशक रतिशचन्द्रलाल सुमनको कार्यकालमा ०७१ माघ २७ गते भएको थियो । सुमनले नै हतारमा भवनको शिलान्यास गरेका थिए ।
उनी आर्थिक अनियमितता प्रकरणमा बर्खास्तमा परेपछि केही समय महेन्द्रसिंह रावल कायममुकायम महानिर्देशकका रूपमा आएका थिए । उनी केही महिनापछि कामुबाटै अवकाशमा गएपछि सञ्जीव गौतम महानिर्देशक बनेका थिए । गौतम २०७२ देखि २०७६ सम्म प्राधिकरणमा महानिर्देशक बने ।
गौतमपछि करिब २ वर्ष ९२०७८० सम्म राजन पोखरेल महानिर्देशक बनेकामा उनीपछि १ वर्षभन्दा कम समय राजकुमार क्षेत्री सुरुमा कामु हुँदै महानिर्देशक बनेर बाहिरिए । २०७८ माघदेखि भने हालका महानिर्देशक प्रदीप अधिकारी नेतृत्वमा छन् । प्राधिकरणले उड्डयनसम्बन्धी नियमनको काम बबरमहलस्थित कार्यालयबाट र सेवाप्रदायकको काम सिनामंगलबाट गर्ने जनाएको थियो ।
अख्तियारले भवन निर्माणको गुरुयोजना र टेन्डरदेखि निर्माणसम्पन्न हुँदाको अवधिसम्म निर्णय प्रक्रियामा संलग्न सबै कर्मचारीलाई अनुसन्धानको दायरामा राखेको छ । प्राधिरकणका कर्मचारीले अनुसन्धानमा सहयोग नगरेका कारण अख्तियारको टोलि बुधबार प्राधिकरणको कार्यालयमै पुगेर कागजता नियन्त्रणमा लिएको उल्लेख छ । तर, प्राधिकरण भने आफन कमी कमजोरी ढाक्न अख्तियार नै नपुगेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत सूचना जारी गरेर बसेको छ।