काठमाडौं । सिधा कुरा अनलाइनका प्रकाश युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना आइतबार कैदमुक्त भएका छन् । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गरेर आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता जनाएपछि पछि उनीहरु रिहा भएका हुन ।
तत्कालिन प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका केही न्यायाधीशहरु केही मिडिया सञ्चालकहरुसँग मिलेर घुससम्बन्धी मुद्दा प्रभावित पारेको भनी सिधाकुराले समाचार र अडियो रेकर्ड सार्वजनिक गरेको थियो । उक्त समाचारका आधारमा सर्वोच्च अदालतको ९ सदस्यीय बृहत पूर्ण इजलासले उनीहरुलाई अदालतको अवहेलनाको आरोपमा दोषी ठहर गर्दै तीन महिनाका दरले कैद सजाय तोकेको थियो । सर्वोच्चले अवहेलना ठहरिएको समाचारप्रति क्षमायाचना गरी आइन्दा अवहेलनाजन्य काम नगर्ने प्रतिवद्धता जनाएमा सात दिन कैद बसेर बाँकी अवधि निलम्बन गर्नु भनी आदेश गरेको थियो । सोही अनुसार असोज १३ गते कारागार चलान भएका उनीहरुले बीचमा अदालतमा उपस्थित भएर लिखित प्रतिवद्धता जनाएका थिए ।
‘सर्वोच्च अदालतको फैसला बमोजिम पत्रकारद्धयले सर्वोच्च अदालतमा पुगेर क्षमायाचना गरेपछि सर्वोच्चले जगन्नाथदेवल कारागारलाई सात दिनको कैद भुक्तानपछि अरु कैद निलम्बन गरेर रिहा गरिदिनु भन्ने पत्र पठाएको थियो । सर्वाेच्चको उक्त पत्रका आधारमा गएराती नै कैद भुक्तान भएकाले हामीले आइतबार विहानै पत्रकारद्धयलाई रिहा गरिएको जगन्नाथदेवल कारागारले जनाएको छ ।