काठमाडौं । सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन । कास्की जिल्ला अदालतमा हाजिर गराउन लामिछानेलाई शुक्रबार साँझ नै स्थालमार्गबाट पोखरा लगिएकाृ छ ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमामा अपचलन गरेको आरोपमा लामिछाने पक्राउ परेका हुन् । पक्राउ पर्नुअघि उनले सम्बोधन गर्दै सम्मानित अदालतप्रति विश्वास राख्ने बताएका छन् । कुनै पनि अपराध नगरेको दाबी गर्दै राज्यले सबै स्रोत र शक्ति लगाएर आफूमाथि षड्यन्त्र गरेको आरोप लगाए ।
राज्यले गरेको दादागिरीविरुद्ध डटेर लाग्न पनि आह्वान गरे । रास्वपाको पार्टी कार्यालयमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सहकारी ठगी प्रकरणमा लामिछानेलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि रास्वपा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरु भेला भएका थिए । उनै भेला भएकाहरुलाई लामिछानले सम्बोधन गरे आफैं स्थलमार्गबाट पोखरा जाने भन्दै निस्किए । उनलाई प्रहरीले साथ लिएर गएको छ ।
भेलालाई सम्बोधन गर्दै लामिछानेले सरकार ढाल्ने निर्णय भएको दिन जसरी पनि रविलाई जेल हाल्ने निर्णय भएको आरोप लगाएका थिए । तर पक्राउ पुर्जी भएकोमा उनले आफूलाई कुनै चिन्ता नभएको बताए । यस क्रममा उनले आफ्नो पार्टी फुटाउने र चुनाव लड्न नदिने षड्यन्त्र गरिएको आरोप लगाए ।
उनलाई जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो । पीडितहरुले २२ माघ २०८० मा सभापति लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा फेरि पुरक जाहेरी दिए ।
सहकारीको रकम ग्यालेक्सी टिभीमा लगेर अपचलन गरेको खुलेपछि उनीहरुले लामिछानेसहितलाई प्रतिवादी बनाएर अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकृतले बताए । यद्यपि, त्यसबेला अनुसन्धान अघि बढेको थिएन ।
त्यहीबीच प्रतिनिधिसभामा नेपाली कांग्रेसले सहकारी ठगीको मामलामा संसदीय समिति गठन गरेर छानबिन हुनुपर्ने माग निरन्तर राखिरह्यो ।
लामो गतिरोधपछि एमाले सांसद् सूर्य थापाको नेतृत्वमा १५ जेठमा सहकारी समस्याबारे छानबिन गर्न एमाले सांसद् सुर्य थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन भयो । समितिले सहकारीको रकम अपचलनमा लामिछानेलाई समेतलाई दोषी ठहर गर्दै ४ असोज २०८१ मा प्रतिवेदन बुझायो ।
प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो । तर, लामिछाने नेतृत्वको रास्वपाले भने प्रतिवेदनले उनलाई ‘क्लीन चिट’ दिएको दाबी गरेको थियो ।
प्रहरीले भने प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई ६ असोजमा ‘जरुरी पक्राउ पूर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लियो ।
जोशीको परिवारले सर्वोच्च अदालतमा पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दिएको थियो । अदालतले १६ असोजमा उनलाई गैरकानूनी हिरासतमा राखेको भन्न नमिल्ने ठहर ग¥यो । यद्यपि, दशैं बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न ध्यानाकर्षण गराएको थियो ।
तर, कास्की प्रहरीले जोशीलाई छाडेन । ग्यालेक्सी टिभीबाट रवि बाहिरिनु अघि नै छविलालले गोर्खा मिडिया नेटवर्क छाडिसकेका थिए ।
सहकारीको रकम आएका बेला लामिछाने पनि नेटवर्कमा सञ्चालक रहेको भन्दै संसदीय समितिको प्रतिवेदन समेतलाई आधार मानेर प्रहरीले पुरक अभियोग लैजाने तयारीसहित रविलाई पक्राउ गरेको हो ।
लामिछाने ‘स्वेट शेयर’का रुपमा १५ प्रतिशत शेयर लिँदै २०७७ सालमा सञ्चालकका रुपमा गोर्खा मिडिया नेटवर्कमा प्रवेश गरेका थिए । तर, संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उनले लिएको भनिएको स्वेट शेयरमाथि पनि प्रश्न उठाइएको छ ।
‘रवि लामिछानेले आफूलाई स्वेट शेयर दिएको भनी बताएता पनि प्रथमः स्वेट शेयर सम्बन्धी कानूनी प्रबन्ध नेपालमा रहे वा भएको नदेखिएको तथा निज सञ्चालकहरुका बीचमा एकापसमा श्वेट शेयर लिने–दिने सम्बन्धमा कुनै सम्झौता भएको लिखत प्रमाण समेत रहे भएको अवस्था देखिँदैन’, प्रतिवेदनमा भनिएको छ ।
लामिछानेले चुनाव लड्ने भन्दै १ असार २०७० मा गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टिभी छाडेका थिए ।
टिभीका मुख्य सञ्चालक एवं सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिबी राई हालसम्म फरार छन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी छ । उनी मलेसियामा रहेको आशंका छ । यद्यपि, हालसम्म पक्राउ परेका छैनन् ।